चार महिनापछि दमौली अस्पतालमा अध्यक्ष नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चार महिनापछि दमौली अस्पतालमा अध्यक्ष नियुक्त

    खबरपुञ्ज संवाददाता

    ७ फाल्गुन २०७८, आईतवार

    दमाैली । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चार महिनापछि दमौली अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष नियुक्त गरेको छ । अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा देवेन्द्र थापा नियुक्त भएका हुन् ।

    मन्त्रालयले जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य थापालाई अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो । गत असोज २२ गते प्रदीपराज अधिकारीको कार्यकाल सकिएपछि अस्पताल व्यवस्थापन समिति पदाधिकारीविहिन थियो ।

    अस्पतालका प्रमुख डा. सुनिल पौडेलले व्यवस्थापन समितिमा अध्यक्ष र सदस्यको नियुक्ति भएको जानकारी दिँदै केही दिनमा पदस्थापनको कार्यक्रम गरिने बताए ।

    सदरमुकामस्थित अस्पतालमा अध्यक्ष नियुक्ति नहुँदा विविध निर्णय प्रभावित हुँदै आएको थियो । अध्यक्ष नियुक्ति ढिलाइले अस्पतालको प्रशासनिक कार्यमा समस्या हुँदै आएको बताइएको छ । “अध्यक्ष नियुक्ति नहुँदा आर्थिक निर्णयहरु रोकिएका थिए, यसले गर्दा अस्पताल सञ्चालनमा समेत बाधा पुग्दै आएको छ,” डा. पौडेलले भने ।

    पौडेलका अनुसार समिति पदाधिकारीविहिन हुँदा अस्पतालमा कर्मचारी नियुक्ति पनि रोकिएका छन् । अस्पतालमा जनशक्ति कम भएको र नयाँ कर्मचारी नियुक्ति नहुँदा कार्यरत जनशक्तिले नै तोकिएभन्दा बढी समय काम गर्दै आएको पौडेलले बताए ।

    अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, मानसिक उपचार र डायोलिसस सेवा समेत प्रदान गर्दै आइरहेको छ । विसं २०३४ सालमा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।

    अस्पतालमा फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्स सहितको भवन निर्माण, आँखा विशेषज्ञ सहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, गाइनोलोष्टिबाट सेवा सञ्चालन, भेन्टिलेटर सहित आईसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार गरिएको छ । साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।