दमौली । नेपाली काँग्रेस पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफू उम्मेद्वार बन्ने घोषणा गरेका छन् । पूर्वगृहमन्त्री समेत रहेका जोशीले मंगलबार तनहुँको भिमादमा विपी विचार समाज भिमाद नगरपालिकाको प्रथम अधिवेशनलाई उद्घाटन गर्दै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
जनताको घरदैलो कार्यक्रममा जनताले चुनाव लडेर जनताको समस्याको समाधान गर्न आग्रह गरेकाले चुनाव लड्ने निधो गरेको जोशीको भनाई छ । तनहुँमा विकासको जग आफूले बसालेको र हाल जस्तो अवस्थामा छोडेको १८ वर्ष सम्म पनि त्यस्तै अवस्थामा रहेकोले उम्मेद्वार बन्ने उनले बताए । मन्त्री र सांसद बनिसकेको व्यक्ति भएको त्यसप्रति चाहाना नभएपनि जनताको समस्या अन्य नेताले देखेर समाधान नगरेकोले जनचाहाना पूरा गर्न अन्तिम एक पटक चुनाव लड्ने निधो गरेको नेता जोशीले बताए । ‘
‘ तनहुँ क्षेत्र नम्बर १को ४२ वटा वडाको १०२ स्थानमा जनतासँग भेटघाटको क्रममा जनता अभाव पीडामा बॉचेको देखेको र जनताको चाहना मलाई उम्मेद्वार बनाउने छ,’ उनले भने । पार्टीले टिकट दिएमा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बन्ने र नदिएमा जनताको तर्फबाट उम्मेदार बन्ने नेता जोशीको भनाई छ ।
विगतको चुनावमा रामचन्द्र पौडेलले आफूसँग निहुँ खोज्दा हार बेहोरेको उल्लेख गर्दै उनले भने, ‘फेरि पनि मसँग निहुँ खोजे भने अब टाउको नै फुट्छ, मेरो चुनावबाट पछि हट्नुको विकल्प छैन ।’
क्षेत्र नम्बर २ मा पनि वार्ता समिति गठन
यसैबीच कांग्रेस लगायतका विभिन्न राजनैतिक दल र पक्षसँग प्रारम्भिक वार्ता गर्न नेता जोशीले गोपाल भण्डारीको संयोकत्वमा ५ सदस्यीय वार्ता समिति घोषणा गरेका छन् । उक्त समितिको सदस्यहरुमा घनश्याम घिमिरे, ऋषिराम पोख्रेल, नरेन्द्र थापा, मनिराज गुरुङ रहेका छन्।