तनहुँ हाइड्रोले १०४ मेगावाट क्षमताको तल्लो सेती आयोजना निर्माण गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँ हाइड्रोले १०४ मेगावाट क्षमताको तल्लो सेती आयोजना निर्माण गर्ने

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०७८, शनिबार

    दमाैली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को जलविद्युत आयोजना पनि निर्माण गर्ने भएको छ । कम्पनीले एक सय चार मेगावाट क्षमताको तल्लो सेती (तनहुँ) जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।

    तनहुँ जलविद्युत आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाह समेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत आयोजना निर्माण गर्न लागिएको हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए।

    कम्पनीले आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब ३.५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्र सम्बन्धी काजगातहरु तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत÷निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको छ ।

    परामर्शदाताले पेश गरेको विस्तृत डिजाइन प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाएको बताइएको छ । विज्ञ समूहले पेश गरेको आयोजनाको डिजाइन पुनरावलोकन प्रतिवेदन उपर सरोकारवालासँग छलफल गरी आगामी आर्थिक वर्षमा अन्तिम रुप दिइने श्रेष्ठले बताए।

    आयोजना अन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै ६.८ किलोमिटर लामो सुरुङमार्फत् सेती नदीको सङ्गमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युतगृहमा खसाली विद्युत उत्पादन गर्ने योजना बनाइएको छ ।

    आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१४, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछ ।

    आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन क्षेत्र निर्धारणका लागि राय सुझाव समेत माग गरेको छ । आयोजनाको क्षेत्राधिकार निर्धारणका लागि सरोकारवालासँग सुझाव माग गरिएको कम्पनीले जनाएको छ ।

    स्थानीय सरोकारवालासँग आयोजना निर्माण गर्दा पर्न सक्ने भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणीय प्रभावका सम्बन्धमा रायसुझाव पठाउन भनिएको छ ।