महिलालाई उद्यमी बनाउन सीप सिकाउँदै सहकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    महिलालाई उद्यमी बनाउन सीप सिकाउँदै सहकारी

    खबरपुञ्ज संवाददाता

    १ चैत्र २०७८, बुधबार

    दमाैली । व्यास नगरपालिका क्षेत्रको उत्कृष्ट सहकारीको रुपमा पहिचान बनाएको व्यास बचत तथा ऋण सहकारी संस्थाले महिलालाई उद्यमी बनाउन सीप सिकाउन थालेको छ । व्यास नगरपालिका–३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाको महिला उपसमितिले दमौली आसपासका महिलालाई उद्यमी बनाउन सीप सिकाउन थालेको हो ।

    फुर्सदिला महिलालाई घरमै बसी आयआर्जनमा संलग्न गराउने उद्देश्य सहित सहकारीले बुधबारदेखि गुडिया बनाउने तालिम सञ्चालन गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा सञ्चालित तालिममा २५ महिलाको सहभागिता रहेको छ ।

    सहकारीका शेयर सदस्य र शेयर सदस्य नभएका महिलालाई पनि सीपसँग जोड्ने र सीपलाई आयआर्जनसँग अगाडी बढाउन सीपमूलक तालिम प्रदान गरिएको सहकारीका अध्यक्ष प्रदीपराज अधिकारीले बताए । “हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्छ, त्यसैलाई मध्यनजर गर्दै महिलाहरुलाई सीप सिकाउन गुडिया बनाउने तालिम दिन लागेका हौ,” उनले भने, “सीप सिकिसकेपछि आवश्यक पैसाको व्यवस्थापन पनि सहकारीमार्फत् गर्न सकिन्छ ।” बजारमा अहिले गुडियाको माग उच्च रहेकाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न उनले आग्रह गरे ।

    समयको अभावका कारण आजभोलि छोटो समयका तालिमको माग बढिरहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले बताए । गुडियाको माग उच्च रहेकाले गुडिया बनाउने तालिम प्रभावकारी रहेको उनकाे भनाई छ । “धेरै लामो अवधिको तालिम लिन फुर्सद पनि नहुने भएकाले छोटो छोटो अवधिको तालिम अहिले प्रभावकारी बन्दै गइरहेको छ,” उनले भने, “फुर्सदको समयमा, घरमा बसी बसी, टिभी हेर्दै पनि गुडिया बनाउन सकिने भएकाले यसको माग उच्च छ ।”

    घरेलु कार्यालयले विभिन्न सङ्घसंस्था र कार्यालयकै आयोजनामा माग र रुची अनुसारका तालिम सञ्चालन गर्दै आइरहेको ढकालले बताए । गुडिया विक्रीका लागि बजारको अभाव नभएको भन्दै उनले भने, “घर सजावटदेखि बालबच्चाका लागि गुडिया विक्री हुँदै आएको छ, विक्रीमा समस्या छैन, बजार प्रशस्त छ ।” उनका अनुसार गुडिया विक्रीबाट दैनिक एक हजारसम्म आम्दानी हुने गरेको छ ।

    चैत १५ गतेसम्म सञ्चालन हुने तालिममा आरती थापाले प्रशिक्षण दिनेछिन् । तालिम दैनिक पाँच घण्टा सञ्चालन हुने महिला उपसमितिका संयोजक बेलु श्रेष्ठले जानकारी दिइन् ।

    साे अवसरमा सहकारीका सचिव त्रिभुवन श्रेष्ठ, महिला उपसमिति सदस्य साना रफत मियाँ लगायतले सिकेकाे सीप व्यवहारमा उतार्न सके मात्र उद्मी बन्न सकिने बताए ।

    विसं २०६४ सालमा स्थापित सहकारीले आफ्नै भवनबाट सेवा दिइरहेको छ । सहकारीले आफ्ना सेयर सदस्यलाई स्वरोजगार तथा उद्यमशील बनाउन सीपमूलक तालिम सञ्चालन गर्ने नीति लिएको छ । जोखिम न्युनिकरणका लागि सदस्यहरुलाई बीमा गर्न प्रोत्साहन गर्ने, सदस्यको विस्तार तथा कारोबारको विस्तारलाई ध्यानमा राखी कम्तीमा एउटा सेवा केन्द्र विस्तार गर्ने, नगद सुरक्षाका लागि काउन्टर, सेफभल्ट र बाटोको बीमा कार्यक्रमलाई निरन्तरता दिने, समान प्रकृति भएका संस्थाहरुसँग मर्ज गर्ने लगायतका नीति लिइएको सहकारीका उपाध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिए ।