म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित छाङपाटन मोटरमार्ग कालोपत्रे भएको छ । गाउँपालिकाले रु ७० लाखको लागतमा उक्त मोटरमार्ग कालोपत्रे गरेको हो ।
एक हजार एक सय ५० मिटर सडक कालोपत्रे गरिएको वडाध्यक्ष शिवबहादुर आलेले जानकारी दिए । मोटरमार्ग कालोपत्रे नहुँदा धुलाम्य बाटो भएर यात्रा गर्न सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो । मोटरमार्ग कालोपत्रे भएसँगै सर्वसाधारणलाई आवतजावतका लागि सहज भएको छ । मोटरमार्ग कालोपत्रे भएसँगै नयाँबस्ती, झिरुबास, हटिया लगायतका ठाउँका सर्वसाधारण लाभान्वित भएका छन् ।
कालोपत्रे भएको मोटरमार्गको आज उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले गाउँपालिकामा पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताइन् । सडक, खानेपानी, बिजुली, स्वास्थ्य, शिक्षा लगायतलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको रानाले बताइन् ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सबै वडामा विकास निर्माणका काम भएको बताउँदै स्थानीय तहमा निर्वाचित भएको पाँच वर्षको अवधिमा देखिने काम गरेको बताए ।