दुलगौडा। तनहुँको शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटारस्थित खैरेनी माविमा सिभिल इन्जिनियरिङ पढाई हुने भएको छ । विद्यालयले आगामी शैक्षिक सत्रदेखि डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाई सुरु गर्न लागेको हो ।
शुक्लागण्डकी नगरपालिका प्रमुख किसान गुरुङले विद्यार्थीहरु पढ्नको लागि एकाग्र हुनुपर्नेमा जोड दिँदै सफल हुन अनुशासन र नैतिकता आवश्यक हुने उल्लेख गरे ।
अक्षयकोष दाता प्राडा. बुद्धिबहादुर थापाले आफू जन्मेको ठाउँ, पढेको विद्यालय र गुरुलाई बिर्सन नहुने भन्दै रोजगारमूलक शिक्षाको आवश्यकता औंल्याए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका थापाले यस विद्यालयलाई एउटा नमुना विद्यालयको रुपमा बनाउने जनाउँदै सिभिल इन्जिनियरिङ विषयको क्षेत्र पनि फराकिलो भएकोले यस विषयमा विद्यार्थीहरुले भविष्य देख्न सकिने बताए ।
पोखरा विश्वविद्यालयका उपप्राध्यापकहरु इ.अर्जुन गौतम, इ. राजेन्द्र अर्याल, कम्प्युटर विज्ञ इ. सन्दीप तिमिल्सिना, पूर्व प्रधानाध्यापक केशवराज घिमिरे लगायतले बोलेका थिए । यसैबीच अक्षयकोष दाताहरु केशवराज घिमिरे र डा. बुद्धिबहादुर थापालाई सम्मान गरिएको थियो ।