दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिकाभित्र क्रियाशील दुई उद्योग वाणिज्य सङ्घबीच एकीकरण भएको छ । विगत लामो समयदेखि क्रियाशील दुई उद्योग वाणिज्य सङ्घबीच शुक्रबार एकीकरण भएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य बाबुराम गिरी र प्रदेश सदस्य लक्ष्मी त्रिपाठीको उपस्थितिमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ र शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घबीच एकीकरण भएको छ । सहमति अनुसार अब शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ नाम कायम हुनेछ ।
दुवै संस्थाको तर्फबाट प्रतिनिधित्व हुने गरी अब नयाँ कार्य समिति गठन हुने शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घका महासचिव हरि थापाले जानकारी दिए । उनका अनुसार शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घबाट प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र आठ सदस्यको प्रतिनिधित्व रहनेछ भने शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घबाट अध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र नौ सदस्यको प्रतिनिधित्व रहनेछ ।
आइतबार दुवैतर्फबाट प्रतिनिधित्व हुने गरी नयाँ कार्य समिति घोषणा गरिनेछ । दुवै संस्थाको तर्फबाट चैत २४ गतेदेखि महोत्सव आयोजनाको तयारी गरिएको थियो । अब महोत्सव एकै संस्थाको तर्फबाट आयोजना हुनेछ । “दुवै संस्थाबीच एकीकरण भएपछि ऐतिहासिक काम भएको छ,” उनले भने, “महोत्सवका कारण पनि संस्था मिलाउन दबाब पुग्यो ।”
दुवै संस्थाका अध्यक्ष वसन्त ज्वारचन र हरिकुमार श्रेष्ठ संस्थापक अध्यक्षकाे रुपमा रहनेछन् ।