दमौली । निर्माण व्यवसायी सङ्घ तनहुँले निर्माण सामग्रीमा भएको मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माणका काममा असर पुगेको भन्दै सङ्घले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
सङ्घले बिहीबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । निर्माण उद्योगमा एकपछि अर्को समस्या थपिदै गएकाले उद्योग धारासायी अवस्थामा पुगेको र पछिल्लो पटक इन्धन लगायतका निर्माण सामग्रीमा अत्याधिक रुपले निरन्तर मूल्यवृद्धि हुँदा निर्माण व्यवसायी मारमा परेको सङ्घका अध्यक्ष रत्नकुमार श्रेष्ठले बताए ।
निर्माण सामग्रीमा अप्रत्यासित रुपले भएको मूल्यवृद्धि सहित सार्वजनिक खरिद (एघारौ संशोधन) नियमावली २०७८ मा आएका केही प्रावधान, बीमा सम्बन्धी जारी गरिएको निर्देशिका २०७८ लगायतका बुँदाहरु संशोधन तथा खारेज गर्न र एकमुष्ठ म्याद थप सहित निर्माण उद्योगका अन्य समस्या र समाधानका लागि सरकारसँग माग गरिएको छ ।
पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल, ग्यास, फलामजन्य निर्माण सामग्री छड, पाता, आइरन ब्लेड, बिटुमीन, सिमेन्ट, ग्याविन तार र नदीजन्य एवं खानीजन्य गिटी बालुवा, ढुङ्गा, इट्टा लगायतका निर्माण सामग्रीको अप्रत्यासित मूल्यवृद्धि भएकाले यस्तो मूल्वृद्धिको समायोजनका लागि सार्वजनिक खरिद ऐन, २०६३ ले व्यवस्था गरे बमोजिम सबै आयोजनाहरुमा व्यवसायीले मूल्यवृद्धि पाउने गरी २०६५ सालमा जस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले प्राविधिक मार्गदर्शन नम्बर २ तुरुन्त जारी गर्नुपर्ने माग गरिएको छ ।
साना निर्माण व्यवसायीहरुको वृद्धि विकासका लागि पाँच करोडसम्मको लागत अनुमान भएको निर्माण कार्यको खरिद योग्यता निर्धारण नगर्न तर दुई करोडदेखि पाँच करोडसम्मको निर्माण कार्यको लागि दश वर्ष पुरानो निर्माण व्यवसायी इजाजत पत्र प्राप्त गरेको फर्म कम्पनीले मात्र भाग लिन पाउनुपर्ने सङ्घको माग छ ।