दमाैली । जिल्ला समन्वय समिति तनहुँले बहुउद्देश्यीय भवन निर्माण सुरु गरेको छ । समन्वय समितिको मौज्दात कोषबाट बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको हो ।
व्यास नगरपालिका–३ स्थित मालपोत कार्यालय आडमा रहेको समन्वय समितिको जग्गामा ट्रस भवन निर्माण थालिएको हो । उक्त भवनको बुधबार समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
व्यावसायिक प्रयोजनका लागि समन्वय समितिले भवन निर्माण सुरु गरेको हो । समन्वय समितिको मौज्दात कोषमार्फत् रु एक करोड ६९ लाख ८२ हजार छ सय ३८ को लागतमा भवन निर्माण गर्न लागिएको समन्वय समितिका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए ।
भवन निर्माणका लागि गत माघ १३ गते पराजुली/बेलु जेभीसँग सम्झौता भएको थियो । विसं २०७९ माघ १२ गतेभित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । भवनमा २४ वटा सटरहरु रहनेछन् । समन्वय समितिको आन्तरिक आम्दानी वृद्धिका लागि त्यसलाई व्यावसायिक प्रयोजनमा लगाइनेछ ।
सो अवसरमा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले निर्धारित समयभित्रै भवन निर्माणको काम सक्न निर्माण व्यवसायीलाई आग्रह गरे ।