दुलेगाैडा । सामान्य खेतीपाती गरेर दिन कटाउने शुक्लागण्डकी नगरपालिका–८ शान्ति टोलकी मधु श्रेष्ठको दिनचर्या दुई वर्षदेखि फेरिएको छ । गृहणीबाट उनी एकाएक व्यवसायी बनेकी छन् ।
वडा कार्यालयले कान्तिपुर वहुप्राविधिक शिक्षालयसँगको सहकार्यमा दिएको तीन महिने सिलाईकटाई तालिमले उनलाई व्यवसायीमा रुपान्तरण गरिदिएको हो । तालिम लिएपछि दुलेगौँडा बजारमा उनले सिलाईकटाई सम्बन्धि व्यवसाय समेत सञ्चालन गरेकी छन् । आफुले सिकेको सिप अरुलाई सिकाउन समेत थालेको उनले बताईन् ।
‘पहिले सामान्य खेतीपाती बाहेक अरु काम थिएन् । सिप सिक्ने रहर थियो । वडाले सिलाईकटाईको तालिम दिएपछि व्यवसाय व्यवसाय थाले’, उनले अगाडी थप्दै भनिन्, ‘खेतपाती गर्दा दुई चार पैसा देख्न मुस्किल हुन्थ्यो । अहिले दुई चार पैसा कमाईएको छ । आफ्नो खर्च धानेर घरखर्च पनि चलाउन सकिन्छ । आत्मनिर्भर बनाएको छ ।’
सीपमूलक तालिमले उनलाई काम, नाम र दाम दिलाएको छ । एकता टोलका मिलन सुवेदीलाई पनि सीपमूलक तालिमले बाटो बदलदिएको छ । विदेश जाने तर्खरमा रहेका उनले वडाले दिएको इलेक्ट्रिसियन र प्लम्बिङको तालिम लिएपछि अहिले भ्याइनभ्याई छ । ‘विदेश जाने योजना थियो । वडामा तालिम आएपछि सिप सिकेर जान्छु भनेर सहभागी भए । तालिम लिएपछि यही काम गर्न थालियो । विदेश जाने योजनालाई भुल्न थाले’, उनले भने, ‘अहिले विदेश जाने सोच पनि आउदैन् ।’ तनहुँ प्राविधिक शिक्षालयसँग वडाले सहकार्य गरेर चलाएको इलेक्ट्रिसियन र प्लम्बिङको लेभल दुई सम्मको तालिम उनले लिएका छन् । अहिले उनी आफैँ पनि प्रशिक्षक भएर आफुले सिकेको सिप बाँड्छन् । मासिक ७० हजार रुपैयाँसम्म कमाई हुने उनले जानकारी दिए । उनलाई हातमा सिप भए विदेश जानु पर्दैन भन्ने अनुभव हासिल भएको छ ।
उनी भन्छन्, ‘आखिर विदेशमा हुने कमाई यहीँ भएपछि किन विदेश जाने ? यही परिवारसँग बसेर काम गर्न पाइएको छ । कमाईसँगै परिवारसँग अलग्गिएर बस्न परेको छैन् ।’ यस्तै अनुभव छ गणपती बजारकी नविना थापाको । प्लस टु पढ्दै गरेकी उनको विदेश जाने सपना थियो । वडाले कान्तिपुर बहुप्राविधिक शिक्षालयसँगको सहकार्यमा व्युटिसियनको तालिम दिएपछि विदेश मोह त्यागेर यही केही गर्न सकिन्छ भन्ने सोच पलाएको छ ।
‘कोरिया जाने तयारी थियो । तालिम लिएपछि त्यो भुत हट्यो । हातमा सिप भएपछि आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने आत्माविश्वास जाग्यो’, उनले भनिन् । तालिम लिएर उनले सुरुमा दुई बर्ष व्युटिपार्लरमै जागिर गरिन् । आफुसँग भएको सिपले जागरि पाउनलाई पनि सजिलो भएको उनी बताउँछिन् ।.गएको पुसदेखी उनले दुलेगौँडा बजारमा व्युटिपार्लर सञ्चालनमा ल्याएकी छन् ।
‘तालिमले आफैँमा निर्भर बन्ने बाटो देखायो । आत्माविश्वासी पनि बनाएको छ’, उनले आफ्नो अनुभव सुनाईन् । मधु, मिलन र नविना उदाहरण मात्रै हुन् । २०७४ मा स्थानीय तहको निर्वाचन भएपछि पाँचको बर्षको अविधिमा शुक्लागण्डकी नगरपालिका–८ मा ४५ जना सिप मुलक तालिम लिएर व्यवसायी बनेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मी बताउँछन् ।
तीन सय जना वडाबासीलाई तालिम दिएको उनले जानकारी दिए ।सिलाइ कटाई, इलेक्ट्रिसियन, प्लम्बिङ, व्युटिसियन, मोबाईल मर्मत, मोटरसाईकल मर्मत, पेन्टर लगायतका तालिम प्रदान गरिएको छ । कान्तिपुर प्राविधिक शिक्षालय, तनहुँ प्राविधिक शिक्षालय, देउराली जनता प्राविधिक शिक्षालय र नारायणी पोलिटेक्निकल इन्सटिच्युटसँगको सहकार्यमा तालि सञ्चालन गरिएको हो । अहिले पनि वडाले सिटिइभिटीसँगको सहकार्यमा मन्टेश्वरी तालिम सञ्चालन गरिरहेको वडाध्यक्ष रेग्मीले बताए ।
‘शहरी क्षेत्र भएकाले हामीले सिप सिकाउनलाई जोडबल ग¥यौँ । हरेक घरका सदस्यलाई सिप सिकाउने लक्ष्य लिएर अगाडी बढ्यौँ । केही सिप सिकेर विदेश जानुभो । यहीँ बसेर पनि धेरै आत्मानिर्भर हुनुभएको छ’, उनले भने । रेग्मी फेरी पनि वडाध्यक्षमा दोहोरिनलाई आकांक्षा व्यक्त गरिरहेका छन् । उनले यसपाली अधुरा भएका कामलाई पुरा गर्नलाई आफु फेरी एक पटक दोहोरिन चाहेको बताए ।