दमाैली । नेकपा एमाले र नेपाली कांग्रेसकाे जोशी समुहका मेयर र उपमेयरका उम्मेदवारहरुले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
चुनावी अभियान लिएर गाउँ गाउँ पुगेका उम्मेदवारहरुले सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याईने र त्यसका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकताका साथ लागु गरिने बताए । मेयरका उम्मेदबार दिपकराज जोशी र उपमेयरका उम्मेदबार बसुन्धरा घर्तीले जेष्ठ नागरिक र अपाङ्गगता भएका नागरिकलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराईने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै बालबालिकाहरुलाई प्रदान गरिने खोप कार्यक्रम सरल र सहज रुपमा प्रदान गर्ने तथा मृगौला पीडित बिरामीहरुको डायालाइसिस उपचारलाई सहज बनाउने प्रतिबद्धता जनाएका छन् । सबै नगरवासीहरुको विश्वास जित्ने गरि आधुनिक तवरको स्रोत साधन सम्पन्न एउटा छुटै नगर अस्पताल सञ्चालन गर्ने र दमौली अस्पताललाई ५० शैयामा विस्तार गर्न कुनै कसर बाँकी नराख्ने उनीहरुले बताएका छन् ।
दीर्घकालिन रोग भएका बिरामीहरुलाई कम्तीमा खर्चको ५० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने गरि स्वास्थ्य सुरक्षाको व्यवस्थापन गर्ने तथा तीन÷तीन महिनाको अन्तरमा स्वास्थ्य शिविर संचालन गरिने उनीहरुको प्रतिबद्धता छ । साथै प्रत्येक ६ महिनामा महिलाको पाठेघरको निशुल्क परिक्षण शिविर आयोजना गर्ने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।