निर्वाचन सामग्री वितरण सुरु, मङ्गलबार बेलुकासम्म सबै मतदान केन्द्रमा पुगिसक्ने (फाेटाे/भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्वाचन सामग्री वितरण सुरु, मङ्गलबार बेलुकासम्म सबै मतदान केन्द्रमा पुगिसक्ने (फाेटाे/भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७९, सोमबार

    दमाैली । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँले आजदेखि सामग्री वितरण सुरु गरेको छ । कार्यालयले दश वटा पालिकाका दुई सय ९७ मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई साेमबारदेखि सामग्री वितरण सुरु गरेको हो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति पत्र बुझेर आएका कर्मचारीलाई सामग्री वितरण थालिएको कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। नियुक्ति पत्रलाई अनलाइन सफ्टवेयरमा प्रविष्ट गरेपछि आवश्यक सामग्री प्रदान गरिने उनले बताए ।

    कार्यालयबाट ६१ प्रकारका सामग्री वितरण थालिएको छ । मतपेटिका, परिचयपत्र, लाहाछाप, स्ट्याम्प लगायतका सामग्री दिन थालिएको छ । मतपत्र भने मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध गराइनेछ ।

    कार्यालयले आज भौगोलिक दूरीले टाढा रहेका मतदान केन्द्रका कर्मचारीलाई सामग्री उपलब्ध गराउनेछ । कार्यालयका अनुसार आज घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकाका मतदान केन्द्रमा खटिने कर्मचारीलाई सामग्री उपलब्ध गराउनेछ भने व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई भोलि सामग्री प्रदान गर्नेछ ।

    निर्वाचन सामग्री बुझेपछि सुरक्षा निकायको निगरानीमा कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रसम्म लैजाने व्यवस्था मिलाइएको छ । मतदान केन्द्रमा खटिने सबै कर्मचारी वैशाख २७ गते बेलुकासम्म सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्नेछ । मतदान केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माण लगायतका काम हुनेछन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले आजदेखि नै कर्मचारीलाई नियुक्तिपत्र समेत वितरण गरेको छ । निर्वाचनमा खटिने एक हजार चार सय ८५ मध्ये आठ सय ९१ कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति र तलबभत्ता उपलब्ध गराइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए।

    जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुई हजार तीन सय ७६ जनशक्ति परिचालन गरिनेछ । निर्वाचनका लागि दुई सय ९७ मतदान अधिकृत, दुई सय ९७ सहायक मतदान अधिकृत, पाँच सय ९४ सहायक, दुई सय ९७ सहयोगी परिचालन हुनेछन् । त्यसका साथै मतदान केन्द्रमा आठ सय ९१ कर्मचारी नियुक्त गरिएको छ ।

    तनहुँका दुई लाख ४४ हजार तीन सय ४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार आठ सय ६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार चार सय ७१ मतदाता रहेका थिए ।