काठमाडाै । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ ।
आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
मुलुकभर ७५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ । दोलखा, सर्लाही, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएकामा सञ्चालन गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ । –––