दमौली । व्यास बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई उपचार खर्च र मृतकका परिवारलाई किरिया खर्च सहयोग गरेको छ ।
सहकारीमा आबद्ध शेयर सदस्यलाई उपचार खर्च बापत २५ हजार, शेयर सदस्यको मृत्यु भएकाका परिवारलाई २० हजार र शेयर सदस्यका परिवारको मृत्यु भएकालाई ५ हजार किरिया खर्च बापतको रकम प्रदान गरिएको हो ।
मिर्गोलाको उपचार गराएका व्यास-२ का प्रेमकुमार श्रेष्ठलाई २५ हजार प्रदान गरिएको छ । त्यस्तै राजकुमार श्रेष्ठ, केशुमाया कुमाल, बसन्ती थापा, चन्द्रबहादुर थापा लगायतलाई पनि सहयोग गरिएको छ ।
दुखका बेला केही राहत होस् भन्नका लागि सहकारीले सहयोग गर्दै आएको अध्यक्ष प्रदीपराज अधिकारीले बताए । सहकारीले चालु आर्थिक वर्षमा २९ शेयर सदस्यलाई राहत वितरण गरेको छ ।