बन्दीपुरको विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरको विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    २७ असार २०७९, मंगलवार

    दमाैली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको नेतृत्वमा सोमबार बालुवाटारमा भएको भेटमा गण्डकी प्रदेशकै दोस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको बन्दीपुरको समग्र विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइएको हो ।

    आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको बन्दीपुरलाई पर्यटनको केन्द्रविन्दु बनाउन सरकारको तर्फबाट सहयोग गरिदिन गाउँपालिकाका अध्यक्ष थापाले प्रधानमन्त्री देउवासमक्ष आग्रह गरे। सो अवसरमा गाउँपालिकाका अध्यक्ष थापाले प्रधानमन्त्री देउवालाई बन्दीपुर भ्रमणका लागि निम्तो दिएका थिए ।

    प्रधानमन्त्री देउवाले बन्दीपुरको बारेमा आफू जानकार रहेको र बन्दीपुर एकदमै मन पर्ने बताए । बन्दीपुरको विकासका लागि सरकारको तर्फबाट सहयोग रहने प्रधानमन्त्री देउवाले प्रतिबद्धता व्यक्त गरे। भेटवार्तामा सहभागी नेपाली काङ्ग्रेसका नेता एवं बन्दीपुरवासी रेशम गुरुङका अनुसार प्रधानमन्त्री देउवाले बन्दीपुरलाई पर्यटकीय गन्तव्यको रुपमा थप विकास गर्न सरकारको सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

    साे क्रममा धरमपानी र ग्याजाटार जोड्ने गरी पर्वतकाे जस्ताे झोलुङे पुल निर्माणका लागि बजेट विनियाेजन गरिदिन प्रधानमन्त्रीसँग माग गरिएकाे थियाे ।

    भेटवार्तामा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङ, क्षेत्रीय होटल सङ्घ बन्दीपुरका पूर्व अध्यक्ष वैश गुरुङ लगायतको सहभागिता थियो ।

    बन्दीपुर गाउँपालिकाको टोलीले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, शहरी विकासमन्त्री मेटमणि चौधरी, ललितपुर उपमहानगरपालिकाका जनप्रतिनिधि, बन्दीपुर सामाजिक विकास समितिका प्रतिनिधिसँग पनि भेट गरी बन्दीपुरका विकास योजनाबारे जानकारी गराएको थियो ।