बुद्धसिं मार्गमा फोहरको डङ्गुर !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बुद्धसिं मार्गमा फोहरको डङ्गुर !

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७९, बिहीबार

    दमाैली । पृथ्वीराजमार्गको विकल्पको रुपमा विकास गर्न लागिएको बुद्धसिं मार्गमा जथाभावी फोहर फालिँदा यो क्षेत्र दुर्गन्धित बन्दै गइरहेको छ । व्यास नगरपालिकाले बुद्धसिं मार्गको सोढेंमा जथाभावी फोहर फालिदिँदा यो क्षेत्र दुर्गन्धित बन्नुका साथै मार्ग भएर यात्रा गर्ने सर्वसाधारणलाई सास्ती भएको छ ।

    सरसफाई केन्द्रको अभाव भोग्दै आएको व्यास नगरपालिकाले गत वर्षदेखि दमौली बजार क्षेत्रबाट निस्कने फोहर सोढेंमा लगेर फाल्दै आएको छ । व्यवस्थित नगरी जथाभावी सडकछेउमा फोहर फालिएपछि यो क्षेत्र नै दुर्गन्धित बन्दै गइरहेको स्थानीयवासी बताउँछन् ।

    त्यसका अतिरिक्त यो मार्ग हुँदै यात्रा गर्ने यात्रुपनि नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको एक यात्रुले बताए । “जथाभावी फोहर फालिदिएको छ, भिरतिर फालिएको फोहर सेती नदीमा खसेको छ,” उनले भने, “नगरपालिकाको व्यवस्थापन देखिएन । यसतर्फ ध्यान जानुपर्छ ।”

    भतेरीमा फोहर फाल्दै आएको नगरपालिकाले भतेरी मादीले कटान गरिदिएपछि चारकुनेमा जग्गा भाडामा लिएर फोहर फाल्दै आएको थियो । उक्त ठाउँ पनि फोहरले भरिएपछि फोहर फाल्ने ठाउँ नपाएर नगरपालिकाले सोढेंमा फोहर फाल्दै आएको छ ।

    स्थापनाको ३० वर्षसम्म पनि नगरपालिकाले सरसफाई केन्द्र बनाउन सकेको छैन । व्यास–१० स्थित मङ्गलीगैह्रामा सरसफाई केन्द्र बनाउने तयारी गरिँदा स्थानीयले विरोध गरेपछि नगरपालिकाले त्यसबाट पनि पछि हटेको छ ।