दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट प्रतिबन्धित लागुऔषध गाजा सहित दुई महिला र एक पुरुष पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट पुलजीपबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय ऑबुखैरेनीमा प्रहरी निरीक्षक आरके सुनारले कार्यभार सम्हालेको केही दिनमै ठूलो मात्रामा लागुऔषध बरामद भएको हो ।
काकडभिट्टाबाट पोखरातर्फ आउँदै गरेको मे १ ख ३१९५ नम्बरको बसलाई रोकी चेकचाँज गर्ने क्रममा बसमा सवार तीन जना गाजा सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–४ बस्ने ३५ वर्षीया जगमाया गुरुङ, सोही ठाउँ बस्ने १९ वर्षीया सुस्मिता गुरूङ र चितवनको इच्छाकामना गाउँपालिका–५ बस्ने २९ वर्षीय अतित गुरुङ रहेका छन् ।
प्रहरीले निजहरुको साथबाट २२ किलो एक सय ८५ ग्राम गाजा बरामद गरेको छ । पक्राउ परेकाविरुद्ध बुधबार तनहुँ अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ