काठमाडाै । शुक्रवारदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’ले नेपाल र भारतमा सुखद् ओपनिङ गरेको छ । अन्य देशहरुमा पनि चलचित्रले राम्रो व्यापार गरेको छ ।
प्रदर्शनको पहिलो दिन शुक्रवार चलचित्रले नेपालमा दुई करोड रुपैयाँको व्यापार गरेको हो ।
त्यस्तै, ‘प्रेमगीत ३’को हिन्दी संस्करणले भारतमा ९२ लाख भारु (नेपाली झन्डै डेढ करोड रुपैयाँ)को व्यापार गरेको चर्चित भारतीय समीक्षक तरण आदर्शले जनाएका छन् ।
भारतमा ५ सय पर्दामा प्रदर्शनमा आएको चलचित्रले सिमित शोजहरूका बाबजुत पनि सुखद् व्यापार गरेको आदर्शले फेसबुकमा उल्लेख गरेका छन् । उनका अनुसार शुक्रवार भारतमा टिकट दर पनि कम थियो ।
यस्तै, अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका देशको व्यापार पनि जोड्दा चलचित्रले पहिलो दिन ७ करोड ७५ लाख नेपाली रुपैयाँभन्दा बढीको व्यापार गरेको बलिउड हंगामाले जनाएको छ ।