दुलेगाैडा । देशैभर चुनावले छपक्कै छोपिसकेको छ । मुख्य दलका प्रमुख नेताहरु पनि यतिबेला मनोनयन दर्ता गरेर चुनावी अभियानमा लागिरहेका बेला ध्यान पनि त्यतै खिचिएको छ । अघिल्लो निर्वाचनमा हार ब्यहोरेका र तनहुँबाट सातौं पटक चुनावी मैदानमा होमिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको यसपाली कस्तो परिणाम आउला ? देशैभरि चासो र चर्चाको विषय बनेको छ ।
सत्ता गठबन्धनबाट तनहुँ १ मा उम्मेद्वारी दर्ता गराएका ७९ वर्षीय नेता पौडेल नेकपा माओवादी, एकिकृत समाजवादी पार्टीको काँधमा चढेर यसपालि प्रधानमन्त्री हुने सपना बोकेर निर्वाचन क्षेत्रमा कुदिरहेका छन् । चुनावी जितिछाड्ने दाबी गर्ने रामचन्द्रसँग प्रतिगमनबाट देशलाई जोगाउन उम्मेद्वार बनेको वाहेक अरु नयाँ एजेन्डा छैन् ।
उनले भने, ‘नेपालको लोकतन्त्र, राजनीतिक अवस्थालाई फेरी पनि अस्थिर बनाउने षडयन्त्र भइरहेका छन् । मुलुकलाई पछाडीतिर धकेल्ने कोसिसहरु भइरहेका छन । प्रतिगमन मुन्टो उठाउन खोज्दैछ ।’
देशमा चलिरहेको शासन व्यवस्थाबाट सन्तुष्ट नभएको बताउँदै उनले निराशाजनक अवस्थाको उनले आफुलाई प्रस्तुत गरेका छन् । छैठौँ पटकको चुनावी यात्रामा असफल बनाइदिएका किसान श्रेष्ठको साथ पनि मिलेकाले पौडेल सातौँ चुनाव जित्नेमा आशावादी देखिन्छन् । तर, उनलाई यसपाली पनि चुनाव जित्न सजिलो भने छैन । किनकि उनीसँगको प्रतिस्पर्धामा १५ जनाले उम्मेद्वारी दिएका छन् । नेकपा एमालेका एकबहादुर राना उनको निकटम प्रतिद्वन्द्वी हुनेछन् । त्योभन्दा पनि ठूलो टाउको दुखाई त जसका कारण अघिल्लो निर्वाचन हारें भन्ने पौडेलको दाबी थियो, यसपाली पनि उनै पौडेलको विरुद्धमा कस्सीएर लागेकै छन् । उनी हुन्, कांग्रेसकै पूर्व सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशी । प्रतिस्पर्धाबारे जोशीको प्रमुख योजना त गठबन्धन हराउने नै छ ।
‘नेपाली राजनीति अहिले विघटनको बाटोतिर गाको छ । गठबन्धनको राजनीति पुर्णतया अप्रजान्त्रिक र व्यक्तिको अधिकारलाई हनन गर्नेतर्फ अगाडी बढेको हुनाले यो गठबन्धनको राजनीतिलाई अन्त्य गरेर प्रत्येक नागरिकले आफुले इच्छाएको व्यक्तिलाई मतदान गर्न पाउने अधिकार अथवा पार्टीको उम्मेदवारीलाई मतदान गर्न पाउने प्रणालीलाई कायम गर्नुपर्छ’, उनले बताए । अहिलेको गठबन्धन केबल सिमित व्यक्तिको स्वार्थ पुरा गर्न प्रेरित भएकाले समाप्त पार्नुपर्ने उनको भनाई छ । प्रजातन्त्रलाई पुर्नस्थापित गर्नलाई उम्मेदवारी दिएको जोशी बताउछन् ।
पौडेललाई चुनौति दिने जोशीमात्रै एक्ला होइनन्, उनै पौडेलले डोहोर्याएर नेता बनाएका कांग्रेस तनहुँका पूर्व सचिव विश्व बास्तोला पनि छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, स्वतन्त्रसहित पौडेलसँगको चुनावी मैदानमा १५ जना उम्मेदवार छन् ।
तनहुँ क्षेत्र नम्बर १ को ‘क’को निर्वाचन पनि कम रोचक छैन । यसअघि नै एमालेबाट सांसद बनेका रामबहादुर गुरुङसँगको प्रतिस्पर्धामा गठबन्धनबाट कांग्रेसका अशोकुमार श्रेष्ठ छन् । पहिलो पटक संसदीय चुनाव लडेका तर तनहुँमा चर्चा र अब्बल नेतामै गनिने श्रेष्ठले दोस्रो पटक प्रदेश संसद छिर्ने योजनासहित मैदानमा होमिएका रामबहादुरका निम्ति ठूलो चुनौति बन्ने निश्चित छ । उनीहरुसँगै यो क्षेत्रमा अरु १२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
तनहुँ–१ को प्रदेश सभा ‘ख’को चुनावी प्रतिस्पर्धाले त झनै तनहुँकोमात्रै होइन, देशकै ध्यान खिचेको छ । २०७० मा भएको संविधान सभा सदस्य निर्वाचनमा रामचन्द्र पौडेलको विरुद्ध बागी उठेका पूर्णबहादुर गुरुङ मनोनयनको दुई दिनअघिमात्र एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगाएर गठबन्धनका उम्मेदवार हरिबहादुर चुमानलाई टक्कर दिन आइपुगेका छन् । जबकी माओवादी केन्द्रका चुमान यसअघि सोही क्षेत्रबाट चुनाव जितेर गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भइसकेका व्यक्ति हुन् ।
अघिल्लो अनुभवलाईसमेत प्रयोग गर्दै मौका परे मुख्यमन्त्री हुने दाउमा रहेका चुमानलाई गुरुङले दबाब दिएकै छन् । तर, चुमान आफू जित्ने पक्का रहेको दाबी गर्छन् । पाँच बर्षमा गरेका कामका कारण जनताले जिताउने पक्का रहेको उनले बताए । ‘मतदाताको बीचमा जानुभयो भने मैले पाँच बर्षको अवधीमा के के गरे भन्ने मतदाताहरुले आफैं भन्नुहुन्छ’, उनले भने । राजनीतिलाई सही ट्रयाकमा डो¥याउनलाई जित्ने चुमानको तर्क छ । राष्ट्रियताको सवालमा चनाखो भएर पहलकदमी चालेको उनको भनाई छ । यो क्षेत्रमा चुनावी प्रतिस्पर्धामा उनीहरुमात्रै छैनन्, अरु ७ जना छन् ।
तनहुँ क्षेत्र नम्बर २ को निर्वाचनले पनि चर्चाको सरगर्मी बढाएकै छ । किनकी यहाँ केन्द्रीय नेतामात्रै प्रतिस्पर्धामा छैनन्, पूर्व वनमन्त्रीसमेत भएका गठबन्धनबाट कांग्रेसका शंकर भण्डारी र एमालेका किरण गुरुङ जितको होडमा छन् ।
भण्डारी र गुरुङ दुवै यो क्षेत्रका लागि पुरानै अनुहार हुन् । क्षेत्र नम्बर १ बाट २ मा आएपछि टुरिष्ट उम्मेद्वारको रुपमा चर्चा गरिएका भण्डारी अघिल्लो पटक एमालेका केदार सिग्देलसँग पराजित भएका थिए । त्यो हारको नतिजा उल्टाउदै जितको खोजीमा उनी हुनेछन् । गुरुङ २(ख) बाट विजयी हुदैँ गण्डकीका अर्थमन्त्री समेत बने । यसपालि यो क्षेत्रमा कसले बाजी मार्छ भन्ने निकै चासो छ । यी दुईको जित्नेमा आ–आफ्नै दाबी छ । एजेन्डा पनि आ–आफ्नै छन् । फेरी पनि विकासको एजेन्डालाई गुरुङले अगाडी सारेका छन् । ‘सम्बृद्धी र परिर्वतन हाम्रो लक्ष्य हो’, उनले भने ।
विकास दृष्टिले पछाडी परेको क्षेत्रमा आफुले नेतृत्व गरेर लहर ल्याउने भण्डारी बताउछन् । दमौली र पोखरालाई एउटै शहरका रुपमा विकास गर्ने हेतुले यो क्षेत्रमा उम्मेद्धारी दिने उनको भनाई छ । ‘विगतको उम्मेदवारीको पनि अनुभव छ । अहिले जनताको विश्वास लिएर चुनाव जितेर यो क्षेत्रको विकासको नेतृत्व गर्ने प्रतिबद्धता छ । लक्ष्य छ’, भण्डारीले सुनाए ।
तनहुँ २ (क) मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने र एमालेका श्यामराजा महत मैदान छन् । संसदीय निर्वाचनमा यी दुबै नयाँ अनुहार हुन् । श्यामराजाले गत स्थानीय निर्वाचनमा शुक्लागण्डकीको मेयरमा इच्छा देखाएपनि टिकट अर्कैको पोल्टामा प¥यो ।
२ (ख) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति जितप्रकाश आले र एमालेका केदार सिग्देल भिड्दैछन । यी दुवै पुराना अनुहार हुन् । जितप्रकाशले २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा पराजय भोगेका थिए । टुकराज सिग्देलसँग पहिलो संसदीय निर्वाचनमा पराजित भएका जितप्रकाश दोस्रो पटक उनैका भाइ केदारसँग प्रतिस्पर्धा गर्दैछन् ।
देशैभरि सत्तागठबन्धन भए पनि तनहुँको दृश्य भने केही फरक छ । यहाँ एकीकृत समाजवादीबाट प्रदेशका सबै क्षेत्रमा उम्मेदवारी दिँदा गठबन्धनलाई नै टाउको दुखाइ बनेको छ । तनहुँ १ (क) मा विद्या ढकाल र १ (ख) मा कलिला खातुन चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । २ (क) मा दुर्गाकुमार श्रेष्ठ र २ (ख) मा प्रतापलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । समाजवादीले प्रतिनिधि सभामा गठबन्धनका उम्मेद्वारलाई सघाउनेछ । जिल्लामा समाजवादी नै छैन भनेपछि अपमान महसुस गरेकाले चुनौती दिनलाइ उम्मेद्वारी दिएको एकिकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीराम कार्कीले बताए ।
गत स्थानीय तहमा दलहरु वडामा पाएको मतभारलाई हेर्दा तनहुँमा सत्ता गठबन्धन बलियो देखिन्छ । तर, दलहरु गठबन्धनको मर्म विर्सदै आ–आफ्नैै सुरुमा लागेको खण्डमा अंकगणितीय हिसाबले यसै हुन्छ भन्न सकिने अवस्ता छैन, त्यो त चुनावी परिणामले नै देखाउला ।