काठमाडौं । कार्तिक कृष्ण औँसीका दिन अर्थात आज मंगलबार लाग्ने ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण प्रारम्भ भएको छ ।
यसैबीच, यो सूर्य ग्रहण काठमाडौंको बत्तीसपुतलीस्थित नेपाल एष्ट्रोनोमिकल सोसाइटीको कार्यालयमा देखाइने भएको छ ।
सोसाइटीले काठमाडौंसहित मोरङ र उदयपुरबाट पनि ग्रहण देखाउने कार्यक्रम रहेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन् ।
नाङ्गो आँखाले ग्रहण हेर्न नहुने भएकाले विशेष प्रकारको चस्मा वा यन्त्रबाट मात्र हेर्न पनि उनले अनुरोध गरेका छन् ।
खाली आँखाले हेर्दा आँखामा समस्या हुन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको सोसाइाटीले जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बेलुकी ४ः५२ बजे सूर्य ग्रहणले स्पर्श गर्ने जनाएको छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् ।
उनका अनुसार करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने छ । नेपालबाट नदेखिने भएपनि ग्रहणले बेलुकी करिब पौने सात बजे छोड्ने छ ।
शास्त्रीय मान्यता अनुसार सोमबार साँझ ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशकले बर्ता ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खान बाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्नुहुन्छ ।
ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।