दमौली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा उम्मेदवारहरु कोणसभा र घरदैलो अभियानमा व्यस्त छन् । तनहुँका दुई प्रदेशसभा र चार प्रदेशसभा सदस्यका लागि ५७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सबै उम्मेदवारहरु यतिबेला निर्वाचन क्षेत्रमा मतदाता भेटघाटमा लागिपरेका छन् ।
बन्दीपुर गाउँपालिका–१ का हरि गौतमले जसले जितेपनि मतदाताको पक्षमा काम नहुने भन्दै गुनासो गरे । “चुनावका बेला नेता घरघरमा आउँछन्, चुनाव जितेपछि बेपत्ता हुन्छन्, फर्किएर आउँदैनन्,” उनले भने, “जनताको पक्षमा जनमुखी काम गर्नेलाई मतदान गर्नुपर्ने बेला आएको छ ।”
उम्मेदवारहरु यतिबेला आफ्नो पक्षमा माहोल बनाउन घरदैलो अभियानमा जुटिरहेका छन् । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेल गाउँमा रोजगारी, गाउँमा आम्दानीको नारासहित घरदैलोमा व्यस्त छन् ।
पौडेलले शनिबार एकैदिन बन्दीपुरका बाह्र ठाउँमा आयोजित कोणसभालाई सम्बोधन गरे छ । पौडेलले बेलभञ्ज्याङ, बानियाँटार, उपल्लोफाँट, नाहाला, रिमाल्नी, पिप्ले, गुरुङटार, ठूलोढुङ्गा, विमलनगर, याम्पा, थुम्का, लोहीपाखामा आयोजित कोणसभालाई सम्बोधन गरेका छन् ।
नेकपा एमालेका तर्फबाट तनहुँ–१ का उम्मेदवार एकबहादुर राना र प्रदेश २ का उम्मेदवार पूर्णबहादुर गुरुङले मतदाताको खेतमा पुगेर धान काटेर मतदाता रिझाउने प्रयास गरेका छन् । बन्दीपुर –६ स्थित खेतमै पुगेर राना र गुरुङले धान काट्न सहयोग पुर्याएका हुन् । सोक्रममा उम्मेदवार रानाले नेकपा (एमाले) कृषकमैत्री रहेको बताउँदै कृषकको समस्या समाधानका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा एमालेका तर्फबाट तनहुँ–२ का उम्मेदवार किरण गुरुङले शनिबार शुक्लागण्डकी र भिमाद नगरपालिकाका मतदाता भेटघाट गरेका छन् । गुरुङले शुक्लागण्डकी–७, भिमाद–८ र ९ का विभिन्न ठाउँमा आयोजित कोणसभालाई सम्बोधन गर्दै यो क्षेत्रको विकासको जिम्मा आफूले लिने बताए ।