दमाैली । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा करिब ५५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । आज बिहान १० बजेदेखि ५ बजेसम्म जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले करिब ५५ प्रतिशत मत खसेको जानकारी दिए । “एकिन तथ्याङ्क आउन केही समय लाग्छ, करिब ५० देखि ५५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ,” ढकालले भने ।
उहाँका अनुसार जिल्लाभर मतदानका क्रममा अप्रिय घटना भएन । “शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ, मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रम सुरु भएको छ,” उनले भने । जिल्ला कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट पहिलो मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छ ।
क्षेत्र नम्बर १ अन्तर्गतका एक सय ५२ मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौली ल्याइनेछ । त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गतका एक सय ५३ मतदान केन्द्रबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालय दुलेगौडा ल्याइनेछ । “राति अबेरसम्म मतपेटिका आएपछि मतगणना कहिलेबाट गर्ने भन्ने बारेमा सहमति गर्छौ,” ढकालले भने।
जिल्लामा दुई लाख ४८ हजार चार सय ९५ मतदाता रहेका थिए । तनहुँ क्षेत्र नम्बर १ तर्फ एक लाख २३ हजार चार सय ९० र क्षेत्र नम्बर २ तर्फ एक लाख २५ हजार पाँच मतदाता थिए ।
तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा (१) मा ६७ हजार एक सय ४४ र प्रदेश सभा (२) मा ५६ हजार तीन सय ४६ मतदाता थिए । तनहुँ क्षेत्र नम्बर २ प्रदेश (१) मा ६७ हजार ३२ र प्रदेश (२) मा ५७ हजार नौ सय ७३ मतदाता थिए ।