


पोखरा । ‘शब्दशक्ति उत्सवको एक दशक’ नाराका साथ पोखरामा १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिबल सुरु भइसकेको छ । फेस्टिभलको उद्घाटन पश्चात विहीबार अर्थशास्त्री एवं काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत्प्रवचनमा सुनिए ।
उनले ‘नेपाल २०९०’ शीर्षकमा प्रवचन दिए । शब्दलाई शक्तिमा बदलेर विद्वत्प्रवचनमा हाजिर वाग्लेले नेताहरुको त्यागमाथि आशंका उब्जाए । ‘राजनीतिलाई जनमुखी बनाउने अह्म मुद्धाहरु त्याग, चरित्र, पात्रता, इमानदारि, योग्यता, भविष्य दृष्टि सबै किनारातर्फ धकेलिएका छन् । यि शब्दहरुले अर्थ नै कतै हराएका हुन् कि जस्तो छ’, उनले भने, ‘अहिलेका निर्णायक दलका उपल्लो तहका नेताहरुले जिवनका सुख सुविधाहरु मुलुकका रुपान्तरणका लागि त्याग गरेको ठानिएको थियो । तर, वास्तविक अर्थमा त्यो त्याग थिएन । बरु अहिलेको राजषी जिवनका लागि लगानी थियो कि भन्ने उनीहरुको व्यवहारले देखाउदैंछ ।’
दर्शन, आदर्श र विचार गौण रहेको उनले सुनाए । दलहरुबीच अपेक्षित वैचारिक प्रतिस्पर्धालाई सत्तामोह, लालच, आत्माकेन्द्रित स्वार्थी व्यवहारको अनपेक्षित प्रतिस्पर्धाले निस्प्रिय सावित गरेको उनले बताए । नेपालले विगत ७० वर्षमा कम्तीमा आधा दर्जन फरक मोडेलका शासकीय प्रणालीहरूको परीक्षण गरिसकेको उनले सुनाए ।
‘मुलुकले ठूलो अवसर मूल्य चुकाएपछि संघीय गणतन्त्रात्मक लोकतन्त्र स्थापित भएको हो । अभ्यासको सात वर्षमै यो प्रणाली पनि असफलता उन्मुख भएको तर्क गर्न थालिएको छ । मुलुकको उन्नतिका लागि वास्तवमा प्रणाली एउटा साधन मात्र हो । मूल कुरा शासकको नियत, योग्यता र दृष्टिकोण हो । उदाहरणका लागि, पञ्चायती व्यवस्थाले प्रचार गरेको शान्ति क्षेत्र वा एसियाली मापदण्डको नारा र उद्देश्य किमार्थ नराम्रो थिएन । तर, शासकहरू आफ्नै प्रतिवद्धता र योजनाप्रति इमान्दार थिएनन्’, उनले भने ।