उत्साहजनक उपस्थितिले हौसला मिलेको छ : महोत्सव संयोजक हिराचन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    उत्साहजनक उपस्थितिले हौसला मिलेको छ : महोत्सव संयोजक हिराचन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष एवं पाँचौ आदिवासी जनजाति तथा सांस्कृतिक महोत्सवका संयोजक सुजित हिराचनले सर्वसाधारणको उत्साहजनक उपस्थितिले हौसला मिलेको बताएका छन् ।

    खबरपुञ्जसँग कुराकानी गर्दै हिराचनले महोत्सव सुरु भएको चार दिनको अवधिमा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको बताए । “महोत्सव सम्पन्न गराउन सबै पक्षको सहयोग पाएका छौ, सबैको सहयोगले नै महोत्सव पूर्ण रुपमा सफल हुनेछ,” उनले भने ।

    जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा कसरी अगाडी बढाउन सकिन्छ भन्ने उद्देश्य राखी महोत्सव आयोजना गरिएको हिराचनको भनाई छ । महोत्सवबाट भएको आम्दानीले व्यास नगरपालिका–१२ घाँसीकुवामा आदिवासी संग्रहालय बनाउने लक्ष्य राखेको हिराचनले बताए ।

    “कला संस्कृति जर्गेनाका लागि महोत्सवमा प्राथमिकतामा राखिएको छ, फरक तरिकाले महोत्सव सञ्चालन गरिएको छ,” उनले भने, “दैनिक रुपमा विभिन्न जातजातिका कला संस्कृति महोत्सवमा प्रस्तुत गरिएको छ ।”

    महोत्सवमा गुरुङ समुदायको घाटु नाच, नेवार समुदायको लाखे नाच, कुमारी नाच, मञ्जुश्री नाच प्रस्तुत गरिसकिएको र अन्य जातजातिको पनि क्रमशः प्रस्तुत गरिनेछ ।

    राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीले महोत्सव सङ्गीतमय बनेको बताउँदै उनले भने, “सर्वसाधारणलाई मनोरञ्जन दिनका लागि चर्चित कलाकारको प्रस्तुतीलाई जोड्दै लगेका छौ ।”

    यहाँ रहेका संघसंस्था, जातीय संगठन, विभिन्न टोलसँग समन्वय गरेर अगाडी बढेका कारण महोत्सव पूर्ण रुपमा सम्पन्न हुनेमा हिराचनले विश्वास व्यक्त गरे ।