दमौली । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको अल्ट्रा म्याराथन यस वर्ष पनि आयोजना गर्ने भएको छ । माघ १६ गते सहिद दिवसको अवसर पारेर नगरपालिकाले व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म अल्ट्रा म्याराथन गर्न लागेको हो ।
विगतका वर्षहरुमा देशभरका धावकको सहभागिता रहने प्रतियोगितामा यस वर्ष भने स्थानीय धावकको मात्र सहभागिता रहने नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । खर्चलाई मितव्ययी बनाउन यसपटक स्थानीय धावकको सहभागितामा मात्र प्रतियोगिता आयोजना गर्ने निर्णय भएको उनले बताए ।
नगरपालिकाले विगतका वर्षमा भन्दा यस वर्ष प्रतियोगिताको पुरस्कार राशि घटाउने भएको छ । त्यसका लागि केही दिनमा पुरस्कारको राशि निर्धारण गरिने गुरुङले बताए । “मितव्ययी तरिकाले प्रतियोगिता सम्पन्न गर्न यो निर्णय गरेका हौ, समिति बनाएर पुरस्कारको राशी निर्धारण हुन्छ,” उनले भने ।
गत वर्ष आयोजित प्रतियोगिताको उपाधि नेपाली सेनाका बेदबहादुर सुनुवारले जितेका थिए । गत वर्ष आयोजित प्रतियोगिताको पहिलो पुरस्कार राशि रु ८७ हजार ७८ थियो ।
नगरपालिकाले म्याराथनलाई पर्यटन प्रबद्र्धनसँग जोड्न खोजेको छ । मगर र गुरुङ गाउँलाई खेलकुदबाट जोडेर प्रचारप्रसार गर्ने उद्देश्य राखिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।
स्थापना दिवस मनाइने
नगरपालिकाले चैत ३० गते स्थापना दिवस मनाउने निर्णय गरेको छ । नगरप्रमुख न्यौपानेको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट योगदानदातालाई सम्मान गर्न उपप्रमुख इन्दिरा दरैको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
बैठकले सञ्चारकर्मी सहयोग सम्बन्धी कार्यविधि, २०७९ पारित गर्ने निर्णय गरेको छ । सडक बोर्ड अन्तर्गत मर्मतसम्भार गर्नुपर्ने बाटोहरुको प्राप्त स्रोत सीमाभित्र रही लगत इष्टमेट तयार गरी माघ मसान्तभित्र पेश गर्न सम्बन्धित शाखाहरुलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ । —