दमाैली । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समिति तनहुँको कार्यालय भवनमा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले उद्घाटन गरे । सोक्रममा उनले सबैको सहयोगबाट निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने बताए । जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार लगायतको सहयोगबाट निर्वाचनलाई मर्यादित र भयरहित रुपमा सम्पन्न गर्न सहयोग आवश्यक रहेको उनले बताए ।
निर्वाचन कार्यतालिका बमोजिम चैत २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन आइतबार दिउँसो राजनीतिक दल, पत्रकार लगायतसँग सर्वपक्षीय कार्यक्रम आयोजना गरिएको मुख्य निर्वाचन अधिकृत आचार्यले जानकारी दिए।