राष्ट्रपति पाैडेलद्वारा नयाँ वर्षकाे शुभकामना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति पाैडेलद्वारा नयाँ वर्षकाे शुभकामना

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०७९, बिहीबार

    काठमाडाै । राष्ट्रपति रामचन्द्र पाेडेलले नयाँ वर्ष २०८० काे शुभकामना दिएका छन् । पाैडेलले बिहीबार एक सन्देश जारी गरी नयाँ वर्षले सबै नेपालीलाई स्वस्थ जीवन र खुसी प्रदान गर्न सकाेस् भन्ने कामना गरेका छन् ।

    शुभकामना सन्देशकाे पूर्णपाठ

    नव वर्ष २०८० को शुभकामना सन्देश
    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
    नव वर्ष २०८० सालको आरम्भमा यहाँहरूको सुख, शान्ति, समृद्धि एवं हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षले विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई पनि स्वस्थ जीवन र खुसी प्रदान गर्न सकोस्, विधातासँग यही मेरो प्रार्थना छ ।

    सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धतिबमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा र घोषणा भएकाले मुलुक सोहीअनुरूप अघि बढ्नु पर्दछ भन्ने कुरामा मेरो प्रतिबद्धता छ । संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा होस् वा जुनसुकै कार्य पनि लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई आत्मसात् गरेमात्र मुलुकमा शान्ति, विकास र समृद्धि कायम भई हामी समाजवादतर्फ उन्मुख हुनेछौ । तर, जो कसैको पनि स्थापित विधि विपरीतको सक्रियता तथा कुनै निहित स्वार्थ प्राप्तिको आतुरताले बामे सर्दै अघि बढेको लोकतान्त्रिक परिपाटी मजबुत हुँदैन । त्यसतर्फ हामी सबै सचेत हुनु पर्दछ । पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ हुन् । यिनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति जनताको भरोसा जागृत हुनेछ भन्ने मेरो दृढ विश्वास छ । साथै, हामी सबैले बुझ्नुपर्ने कुरा के पनि हो भने, ‘लोकतन्त्रको विकल्प पूर्ण लोकतन्त्र नै हो ।’

    आदरणीय दिदीबहिनी दाजुभाइहरू,
    जनताको लामो संघर्ष र असीम बलिदानबाट नेपालमा जुन परिवर्तन आएको छ । नेपालका तल्लो तहका उत्पीडित र थिचिएका जनतासम्म अधिकार निक्षेपित गर्ने जुन काम भएको छ, यसको सान्दर्भिकताका साथै गहिराइ बुझ्ने, अनुभूति गर्ने र आत्मसात् गर्ने कुरामा कसैले पनि हेलचेक्र्याइँ गर्नु हुँदैन । यस परिप्रेक्ष्यमा, जनअधिकारको रक्षा र अभिव्यक्तिका लागि राजनीतिक दलहरूको अपरिहार्यता आजको स्थापित सत्य हो । चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको सिल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचयन राख्न राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव तथा नेपाली–नेपालीबीच अपनत्व र भ्रातृत्व बढाउन तथा मुलुकको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न थप मद्दत पुर्‍याउन सक्नेछ र त्यसले क्रमशः मुलुकमा स्थापित लोकतान्त्रिक पद्धति फलित र सुवासित हुँदै जानेछ भन्ने मलाई लाग्दछ ।

    आदरणीय दिदीबहिनी दाजुभाइहरू,
    आर्थिक रूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता हामी सबैको हो । तर, केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनु पर्दछ ।

    यसैबीच, मानव समाजमाझ बढिरहेको पदार्थवादी महत्वाकांक्षा र प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविकीय विविधताको ह्रास साथै बढ्दो प्रदूषण आज चुनौतीका रूपमा हामी सामुन्ने देखा परेका छन् । यस चुनौतीबाट हाम्रो मुलुक पनि अछुतो रहेको छैन । हाम्रो हिमाली भेग, उच्च पहाडका साथै चुरे र तराईका फाँटहरूसम्म पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभाव टड्कारो रूपमा पाइन्छन् । यस भौगोलिक क्षेत्रमा नै खानेपानीको मुहानको रूपमा रहेको हिमाली क्षेत्र अहिले संकटपूर्ण अवस्थामा रहेको यथार्थ यहाँ दोहोर्‍याउन चाहन्छु ।
    यस वातावरणीय चुनौती, आर्थिक मन्दी तथा राजनीतिक संक्रमणबीच नेपाल आगामी तीन वर्षभित्र अति–कम विकसित देश ९ीम्ऋ० बाट विकासोन्मुख देशको श्रेणीमा स्तरोन्नति हुने चरणमा रहेको छ । तसर्थ, यी सबै कठिन परिवेशमाझ हरेक प्रकारले सजग रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहयोग र सद्‌भाव लिई हाम्रा कदमहरू अगाडि बढ्ने कुरामा म विश्वस्त छु ।
    अन्त्यमा, हामी माझ व्याप्त नैराश्यतालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरौं । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरौं र राष्ट्रका अपार स्रोत सम्पदा र सम्भावनाको उद्‌घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौं । पुनः नव वर्ष २०८० प्रेरणादायी बनोस् भन्ने अपेक्षासहित सबैमा सुखद भविष्यको शुभकामना व्यक्त गर्दछु ।