दमाैली । अन्तरिक्ष प्रतिष्ठान नेपालको आयोजना र निर्मल मावि विज्ञान विभागको व्यवस्थापनमा सेटेलाइट बुटक्याम्प सोमबारदेखि सुरु भएको छ । विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे ।
अन्तरिक्ष प्रतिष्ठान नेपालका अनुसन्धानकर्ता तथा विद्यालयका भूतपूर्व विद्यार्थी विकल्प ढुंगाना लगायतका टिमले कार्यक्रमको संयोजन र सहजिकरण गरेको छ । ढुंगानाले उक्त कार्यशालाबारे प्रकाश पार्दै पाँच दिनको अवधिमा विद्यार्थीहरुले सेटेलाइट सम्बन्धि विभिन्न कम्प्युटर प्रोग्रामिङ र सेटेलाइटको जडान र निर्माण समेत गर्ने जानकारी दिए ।
त्यस्तै जेठ २७ र २८ गते अन्तिम दुई दिनमा विद्यार्थीहरुले आफूले निर्माण गरेका सामग्रीहरुको प्रदर्शन गर्नेछन् ।
उक्त कार्यशालामा व्यास नगरपालिका र आसपासका गरी २२ विद्यालयबाट करिब एक सय तीन जना विद्यार्थीहरूको सहभागिता रहेको छ । गण्डकी प्रदेशमा नै पहिलो पटक सञ्चालन गरिएको यस कार्यशालाबाट भविष्यमा अन्तरिक्ष अध्ययन अनुसन्धान सम्बन्धी विद्यार्थीहरुलाई रुचि र उत्प्रेरणा जगाउने उद्देश्य राखिएको छ ।