काङ्ग्रेस तनहुँले चारवटै प्रदेश क्षेत्रमा सम्मेलन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेस तनहुँले चारवटै प्रदेश क्षेत्रमा सम्मेलन गर्ने

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०८०, आईतवार

    दमाैली । नेपाली काङ्ग्रेस तनहुँले जिल्लाका चार वटै प्रदेश सभा क्षेत्रमा सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टी जिल्ला सभापति जीतप्रकाश आलेको अध्यक्षतामा आइतबार सम्पन्न कार्यसमितिको विशेष बैठकले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रका चार प्रदेशसभा क्षेत्रमा सम्मेलन गर्ने निर्णय गरेको हो ।

    नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार साउन २० गतेदेखि ३० गतेसम्म विशेष आन्तरिक अभियान चलाउने निर्णय भएबमोजिम प्रदेश सम्मेलन गर्ने निर्णय गरिएको पार्टीका जिल्ला प्रवक्ता हरि वाग्लेले जानकारी दिए ।

    वाग्लेका अनुसार क्षेत्र नम्बर १ प्रदेश १ को साउन २७ गते दमौलीमा, प्रदेश २ को २९ गते डुम्रेमा, क्षेत्र नम्बर २ प्रदेश १ को २२ गते खैरेनीटारमा र प्रदेश २ को २५ गते भिमादमा सम्मेलन हुनेछ ।

    यस्तै केन्द्रीय प्रतिनिधिको समन्वयमा क्षेत्र नम्बर १ को डुम्रेमा साउन २४ गते र क्षेत्र नम्बर २ को २३ गते खैरेनीटारमा बैठक आयोजना गरिनेछ ।

    पार्टीले आन्तरिक अभियान चलाउनका लागि केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य नानु बास्तोलालाई खटाएको । बैठकले तनहुँका प्रतिनिधिसभा क्षेत्रीय समिति, प्रदेश सभा क्षेत्रीय समिति, पालिका कार्यसमिति, वडा समिति र टोल समितिको विस्तारित बैठक राखी सम्बन्धित समितिको समाधान गरी कमीकमजोरीलाई सच्याएर पार्टीका सदस्य जनप्रतिनिधिलाई परिचालन गरी पार्टीको आन्तरिक सङ्गठन सुदृढ गर्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

    बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारी, केन्द्रीय सदस्य धु्रव वाग्ले, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल लगायतले अभियानलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिए ।