काठमाडौं । शीतल निवासमा बोलाइएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले नजाने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहान साढे ८ बजे संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् ।
तर, राष्ट्रपतिले संविधानविपरीत अनावश्यक सक्रियता देखाएकाले पार्टीबाट कोही नजाने एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।
नेम्वाङले भने, ‘प्रधानमन्त्रीले के आधारमा बोलाउनुभएको हो ? हामी निरन्तर सरकारसँग छलफलमा छौं । आज पनि २ बजे बैठक बस्दैछौं । राष्ट्रपतिले बोलाएको बैठकको जानकारी छैन । वैधानिकता पनि पुष्टि हुँदैन ।’
सोमबार साँझ बसेको सर्वदलीय बैठकमा पनि एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएकोबारे चासो राखेका थिए ।
ओलीले प्रधानमन्त्रीसँगको सल्लाहमा राष्ट्रपतिले काम गर्नुपर्ने भएपनि कुन आधारमा सर्वदलीय बैठक बोलाएको ? भन्दै प्रश्नसमेत उठाएका थिए । ओलीले तपाईँले नै अनुरोध गर्नुभएको हो ? भन्दै प्रधानमन्त्रीलाई सोधेका थिए ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित एमालेले निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् । उनले प्रधानमन्त्री, केही दलका नेता तथा सभामुख र राष्ट्रियसभा अध्यक्षसँग समेत छलफल गरेका थिए । (नेपाल प्रेस)