नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैँअघि सञ्चालनको तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैँअघि सञ्चालनको तयारी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई पुल दशैँ अघि सञ्चालन गरिने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप दुई वटा पुल दशैँअघि सञ्चालन गर्नेगरी काम अघि बढेको छ ।

    नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार लामो बालुवा र डुम्रे पुल दशैँअघि सञ्चालनमा आउने गरी काम अघि बढाइएको छ । पछिल्लो समय निर्माणाधीन १५ पुलमध्ये सेतीदोभान असार महिनाबाट सञ्चालनमा आएको छ ।

    उनका अनुसार सञ्चालनमा आउने तयारीमा रहेका दुवै पुलको माथिल्लो तहको कालोपत्र गर्न बाँकी छ । उनले भने, “वर्षात्का कारण केही ढिलो भयो, दशैँ अघि काम सम्पन्न हुन्छ ।” आयोजनाले असार मसान्तमै ती पुल सञ्चालनमा ल्याउने तयारी गरेको थियो । वर्षात्सँगै कालोपत्र र बाँकी काम गर्न नभ्याइएकाले केही ढिलो भएको हो । कार्कीले बाँकी १२ मध्ये १० वटा पुल पुस महिनासम्म सम्पन्न हुने अनुमान गरिएको बताए।

    उनका अनुसार पुल निर्माणका लागि भित्तो बिस्फोट गर्नुपर्ने भएकाले तुइन खोलाको पुलको काम सुरु गरिएको छैन । पुल नजिकै बसेकालाई मुआब्जा वितरणसँगै खहरे खोलाको पुलको काम थालिएको छ । जगको काम सकिएको कार्कीले जानकारी दिए। उनले यी दुई पुल चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । दशैँपछि बिस्फोटको काम हुने उहाँले जानकारी दिए ।

    उनले भने “जलविद्युत् कम्पनीमा समेत बिस्फोटका सामग्री आउन थालेकाले दशैँपछि यो पुल निर्माणस्थलको भित्तो बिस्फोट गर्न सकिएला ।” यससँगै कामलाई तीव्रता दिएर यसै वर्षभित्र पुलको निर्माण सम्पन्न योजना रहेको उनकाे भनाइ छ । पुल निर्माणका क्रममा २४ घरको मुआब्जा दिनुपर्ने भएकाले काम रोकिएको थियो ।

    ती घर हटाउन रु ९७ लाख आवश्यक पर्नेमा रु ७० लाख निकासा गरी १६ परिवारलाई मुआब्जा दिएर हटाइएको छ । बाँकी छ परिवारलाई पनि मुआब्जा दिने प्रक्रिया जारी छ । एक जनाले मुआब्जामा चित्त नबुझेर रकम बुझेका छैनन् । कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरेको एक वर्षको समय यही बि.सं. २०८० सालको पुस मसान्तसम्ममा सकिँदै छ । विसं २०७६ को चैतमा रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो ।

    तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज उक्त कम्पनीले पाएको थियो । नक्साङ्कनसहित पुल निर्माणका लागि ठेक्का लगाइएको हो । निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएको हो । पुलको गाडी गुड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो छ ।

    दायाँबायाँ फुटपाथसहित गरेर नौदेखि ११ मिटर पुल फराकिलो छ । केही पुल भौगोलिक कारणले नौ मिटरमात्र फराकिलो बनाइएको छ भने धेरै पुल ११ मिटरका छन् । सो सडकको चौडाई समेत नौदेखि ११ मिटर फराकिलो छ । यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी आवागमन हुने गर्छन् । तराईबाट राजधानी प्रवेश र बाहिरिने मुख्य सडकमा यो पर्दछ । केही वर्षअघि सडक विस्तार गरिएपछि सडक फराकिलो बनाईएको छ । तत्कालिन समयमा काटिएको भित्तोका कारण कतिपय ठाउँमा पहिरो खसेर दुःख दिने गरेको छ ।