दमौलीमा डेंगुको प्रकोप : सरकारी कार्यालयमै टायर जथाभावी भण्डारण !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा डेंगुको प्रकोप : सरकारी कार्यालयमै टायर जथाभावी भण्डारण !

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८०, बिहीबार

    दमौली । दमौलीमा डेंगुको संक्रमण बढ्दो छ । विशेषगरी बजार क्षेत्रमा दैनिक संक्रमित हुनेको संख्या बढ्दो छ ।

    डेंगु नियन्त्रणका लागि सरकारी निकायले ठोस कदम चाल्न सकिरहेको छैन । हालसम्म तीन जनाले डेंगुको संक्रमणबाट ज्यान गुमाएका छन् भने करिब दुई हजार संक्रमित छन् ।

    दमौलीमा डेंगु कसरी फैलियो भन्ने पत्ता लागेको छैन । जिल्ला प्रशासन कार्यालय तनहुँले डेंगु नियन्त्रणका लागि बिहीबार खोज र नष्ट गर अभियान चलायो । जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले व्यास-२ र ३ का केही ठाउँमा पुगे ।

    https://youtube.com/shorts/FBmkaOZvkTE?si=w1zD8ldp8yTBFbB7

    त्यसक्रममा केही सरकारी कार्यालयले नै लार्भा उत्पादनका लागि सहयोग पुर्याएको हो की भन्ने देखिएको छ । पूर्वाधार विकास कार्यालय, आन्तरिक राजश्व कार्यालय तनहुँमा सवारी साधनका टायर जथाभावी रुपमा राखेको देखियो । टायरमा जम्मा हुने पानीमा लामखुट्टेले फूल पार्ने सम्भावना बढी हुन्छ ।

    अभियानमा खटिएका समन्वय प्रमुख शान्तिरमण वाग्लेले टायरलाई व्यवस्थापन गर्न कार्यालयका कर्मचारीलाई सुझाव दिए ।

    त्यस्तै अन्य केही कार्यालयमा पनि टायरहरु राखेको भेटिएको थियो ।

    त्यस्तै सरकारी कार्यालयमै पानी जमेको, फोहर, लापरवाही भण्डारण देखिएको छ। औषधि व्यवसायी राजु दाहालले सबैजसो सरकारी कार्यालय लार्भा उत्पादनको थलो जस्तो देखिएको टिप्पणी गरे ।

    टायर लामखुट्टेका लागि सुरक्षित

    एडिस एजिप्टाइ र एडिस एल्गोपिक्टस नामक दुई प्रजातिका लामखुट्टेले डेंगु सार्ने चिकित्सक बताउँछन् । यी लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेर निरोगीलाई टोक्यो भने डेंगु सर्छ।

    डेंगु सार्ने प्रजातिका लामखुट्टेले सफा पानीमा अण्डा पार्छन्। एक हप्तामा अण्डाबाट लामखुट्टे हुर्किसक्छ। छोटो अवधिमा अण्डाबाट लामखुट्टे निस्किएर वयस्क भइसक्ने हुनाले डेंगु छिटो फैलने चिकित्सकहरुको भनाइ छ।

    एडिस प्रजातिका लामखुट्टेका लागि बेवास्ता गरी फालिएका टायर सबैभन्दा सुरक्षित बासस्थान हुने बताइन्छ । घरको कम्पाउन्ड, वर्कसप आदि ठाउँमा राखिएका टायरमा जमेको पानीमा यो प्रजातिका लामखुट्टेले अण्डा पार्ने गर्दछ ।

    भुइँमा जमेको पानी अथवा पोखरीमा लामखुट्टेका अण्डा भ्यागुताले खाइदिने सम्भावना हुन्छ। यसकारण पनि लामुखट्टेको लागि टायर सुरक्षित स्थान हुन्छ। हप्ता वा १० दिनसम्म पनि टायरमा पानी रहेमा यस्ता लामखुट्टेको संख्या वृद्धि हुन्छ।