ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८०, आईतवार

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवका लागि प्रेरणाका स्रोतका रूपमा रहनुभएका ज्येष्ठ नागरिकको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्नुपर्ने बताएका छन् ।

    तेत्तीसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई अन्तर पुस्तान्तरण गरी अत्यधिक उपयोग गर्नसके आर्थिक समृद्धि तथा सामाजिक सदासयता कायम गर्न ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

    देशका युवाशक्ति अध्ययन र रोजगारीका लागि विदेशिएका र घर–घरमा ज्येष्ठ नागरिकमात्र बाँकी रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको अधिकारको संरक्षण, हित र कल्याणका लागि अब राज्यस्तरबाटै सोच्ने बेला भइसकेको छ भने । उनले ज्येष्ठ नागरिकको संरक्षकत्व प्राप्त गरी बाजेबज्यैदेखि नातिनातिनासम्म सगोल परिवारमा रहने पूर्वीय दर्शनमा आधारित आदर्श परिवारको महत्व बुझ्न र बुझाउन आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा शुभकामना सन्देशमा व्यक्त गरेका छन् ।

    ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैमा आह्वान गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं सम्मानित जीवनको कामना समेत गरेका छन् ।