अष्ट्रेलियाद्वारा न्युजिल्याण्ड पॉच रनले पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अष्ट्रेलियाद्वारा न्युजिल्याण्ड पॉच रनले पराजित

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०८०, शनिबार

    एजेन्सी । एकदिवसीय विश्वकपमा न्युजिल्याण्ड मात्र पॉच रनले विश्वकीर्तिमानी जीतबाट चुकेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ८९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ८३ रन बनाउन सक्यो ।

    जेम्स निसमले ३९ बलमा ५८ रन बनाउँदै टोलीलाई जीत नजिक पुर्‍याएका थिए । तर, अन्तिम ओभरमा उनी रन आउट भएसँगै न्युजिल्याण्ड मात्र ५ रनले पराजित हुनपुग्यो । यदि आजको खेलमा जीत हासिल गरेको भए विश्वकपमा न्युजिल्याण्डले अहिलेसम्मकै ठुलो लक्ष्य पछ्याउने थियो ।

    न्युजिल्याण्डका लागि रचिन रविन्द्रले सर्वाधिक ११६ रन बनाए । उनले ८९ बलमा ९ चौका र ५ छक्का हिर्काए । त्यस्तै डेरल मिचेलले ५१ बलमा ५४ रनको पाली खेले ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाँचपटकको विजेता अस्ट्रेलियाले हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियमा ४९.२ ओभरमा सबै विकेट गुमाएर ३ सय ८८ रन बनाएको थियो ।

    अस्ट्रेलियालाई ट्राभिस हेड र डेभिड वार्नरले उत्कृष्ट सुरुवात दिलाए । दुवैले १ सय ७५ रनको साझेदारी गरे । वार्नरले ८५ रन बनाए । यसक्रममा उनले ५ चौका र ६ छक्का हिर्काए । ट्राभिस हेडले पनि आक्रामक पाली खेल्दै शतक बनाए । उनले ५९ बलमा आफ्नो शतक पुरा गर्दै १०९ रन बनाए । यो विश्वकपमा यो तेस्रो चाँडो शतक हो । यसअघि ग्लेन म्यक्सवेलले ४० तथा ऐडन मारक्रमले ४९ बलमा शतक बनाएका थिए । विश्वकपमा उनको यो पहिलो तथा करियरको चौथो शतक हो । 

    दुई खेलाडी आउट भएपछि अस्ट्रेलिया मध्यक्रमले खासै ठुलो योगदान दिन सकेन । मिचेल मार्स ३६ रन बनाएर आउट भए भने स्टीभन स्मिथ र मार्नस लाबुस्चेनले समान १८–१८ रन बनाए ।

    त्यसपछि आएका ग्लने म्याक्सवेलले पुनः विस्फोटक पारी खेले । अघिल्लो खेलमा ४० बलमा शतक बनाएर कीर्तिमान बनाएका उनले २४ बलमा ४१ रन बनाए । उनले ५ चौका र २ छक्का हिर्काए ।

    त्यस्तै, जोस इंग्लिस र कप्तान प्याट कमिन्सले अस्ट्रेलियालाई विशाल योगफलसम्म पुर्याए । इंग्ल्सिले मात्र २८ बलमा ३८ रन बनाए । उनले चार चौका र एक छक्का हिर्काए । कप्तान कमिन्सले १४ बलमा ३७ रन बनाए । उनले दुई चौका र ४ छक्का हिर्काए । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले ३–३ तथा मिचेल स्यान्टनरले २ विकेट लिए ।