गण्डकी विश्वविद्यालयले शुक्लागण्डकीमा जग्गा पायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गण्डकी विश्वविद्यालयले शुक्लागण्डकीमा जग्गा पायो

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०७७, बुधबार

    तनहुँ/गण्डकी प्रदेश सरकारले स्थापना गर्न लागेको गण्डकी विश्वविद्यालयले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा जग्गा प्राप्ति गरेको छ । विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न जग्गाको स्वामित्व नेपाल सरकारमै रहने गरी प्रदेश सरकारलाई उपयोगका लागि शुक्लागण्डकी नगरपालिकास्थित १ सय ७५ रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको छ ।

    सरकारले कास्कीको पोखरा महानगरपालिका–२३ मा रहेको ३ सय ५२ रोपनी १४ आना १ दाम जग्गा पनि प्रदेश सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले बेलचौतारामा ४ सय ७५ रोपनी सार्वजनिक जग्गा पहिचान गरेको थियो । भानुभक्त क्याम्पससँगै जोडिएको जग्गामा स्थापना हुने विश्वविद्यालयका लागि सङ्घ सरकारसँग जग्गा माग गरिएको थियो ।

    विश्वविद्यालय स्थापनाका लागि जग्गा पाएसँगै प्रदेश सरकारले अब काम अगाडी बढाउने बताएको छ । विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङले जग्गा अभावका कारण ढिलाई भएको विश्वविद्यालय स्थापनाको काम अगाडी बढ्ने जानकारी दिनुभयो ।

    बेलचौतारामा शिक्षण अस्पताल स्थापना गर्ने, पढाइ सञ्चालन गर्ने र पोखरा महानगरमा केन्द्रीय कार्यालय राख्ने योजना अनुसार काम अगाडी बढाउने सरकारको लक्ष्य छ । स्थापनाको सम्भाव्यता अध्ययनका लागि गठित कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार विद्यालय स्थापनाको लागि रु ७ अर्ब ९४ करोड ८० लाख लागत अनुमान गरिएको छ ।

    विश्वविद्यालय स्थापना गर्न गठित प्रारम्भिक अध्ययन समितिले शुक्लागण्डकीमा विश्वविद्यालय स्थापना गर्न उपयुक्त भएको प्रतिवेदन दिएपछि प्रदेश सरकारले विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले प्रा.डा. गणेशमान गुरुङको संयोजकत्वमा एक समिति गठन गरेको थियो । उक्त समितिले स्थलगत अनुगमनपछि शुक्लागण्डकी नगरपालिका विश्वविद्यालय स्थापनाका लागि उपयुक्त रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

    विश्वविद्यालयमा प्राकृतिक विज्ञान, प्राविधिक तथा व्यावहारिक व्यवस्थापन, समाजशास्त्र मानवशास्त्र, प्रविधि, आविष्कार र शिक्षामा स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी गराउने योजना छ ।