दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिकाका भूमिहिन सुकुम्बासीले लालपूर्जा पाएका छन् । राष्ट्रिय भूमि आयोग तनहुँकाे समन्वयमा गाउँपालिकाले आँबुखैरेनी-२ का १३ सुकुम्बासीलाई साेमबार लालपूर्जा वितरण गरेकाे हाे ।
आयोगको गत पुस २३ को निर्णय अनुसार भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेकाे थियाे ।
साेमबार आयाेजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानले १३ जनालाई जग्गाकाे लालपूर्जा हस्तान्तरण गरेका छन् । साे अवसरमा उनले पालिकाका अन्य वडाका भूमिहिनले पनि निकट भविष्यमा लालपूर्जा पाउने बताए ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भूमिहिनलाई जग्गाकाे मालिक बनाउने अभियान सुरु भएकाे बताए । उनले भने, ‘हामीले चुनावका बेला नै लालपूर्जा वितरण गर्छाै भनेर जनतामाझ भनेका थियाै । त्याे प्रतिबद्धता सुरु भएकाे छ । हामी आश्वासन दिँदैनाै, काम गरेर देखाउँछाै ।’
चुमानले क्रमिक रुपमा अरु वडाहरुको प्रक्रिया पूरा भएपछि पूर्जा वितरण गरिने बताए । उनले भने, ‘वर्षाै भोगचलन गरेको जमिनको लालपुर्जा हात हातमा पुग्नु समृद्धिको आधार हो।’
आयाेगका अध्यक्ष रामचन्द्र अधिकारीले जिल्लाका अन्य पालिकामा पनि क्रमश: लालपूर्जा वितरणलाई अगाडी बढाइने बताए ।
साेही अवसरमा भूमिहिन सुकुम्वासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोवासी सेवा केन्द्रमा रही अहोरात्र खटी उल्लेखनीय भूमिका निर्वाह गरेका सूचना प्रविधि अधिकृत/सेवा केन्द्र प्रमुख इन्जिनियर निरोज श्रेष्ठ, अमिन सरोज चन्द्र अधिकारी र अमिन सन्जित श्रेष्ठलाई सम्मान गरिएकाे थियाे ।