मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका घर भत्काउन थालियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका घर भत्काउन थालियो

    खबरपुञ्ज संवाददाता

    २९ माघ २०८०, मंगलवार

    दमाैली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा आजदेखि घर भत्काउन सुरु गरिएको छ । यसअघि सडक विस्तारका लागि घर नभत्काउँदा काम रोकिएपछि बजार क्षेत्रका संरचना आजदेखि भत्काउन सुरु गरिएको हो ।

    मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड) का इन्जिनियर र स्थानीयवासीको बैठकमा भएको प्रतिबद्धताअनुसार सडक स्तरोन्नतिका लागि घर भत्काउन थालिएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रहेकाे स्थानीयवासी बैकुण्ठनाथ मिश्रले बताए। मिश्रका छिमेकी ज्योतिकुमार श्रेष्ठले पनि घर भत्काउन थालेका छन् । आइतबारको बैठकमा मिश्रले सडक विस्तारको कामलाई सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए ।

    सडक विस्तार योजना (पूर्वीखण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले दमौली बजारमा घर भत्काउन थालिएसँगै बजार क्षेत्रमा कामलाई तीव्रता दिइने जानकारी दिए। उनले भने “बजार क्षेत्रमा घर भत्काउन सुरु गरेर स्थानीयवासीले सडक विस्तारको कामलाई सहयोग गर्नुभएको छ ।”

    पाण्डेका अनुसार दमौली बजारका ७४ घर भत्काइनेछन् । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिर लगायतका संरचना पर्दछन् । “यसका लागि ४५ जनाले पहिलो किस्ताबापतको रकम बुझिसकेका छन्”, उनले भने । “पूर्वी खण्डको अन्य ठाउँमा सडकभित्रका संरचना हटाएर काम भइरहेपनि सदरमुकाम दमौलीकै संरचना हटाउन ढिलाइ भएको थियो”, इन्जिनियर पाण्डेले भने, “अब बजार क्षेत्रमा घर भत्काइसकेपछि सडक फराकिलो बनाउने कामलाई अगाडि बढाउँछौँ ।”

    प्रहरी कार्यालयको संरचना हटाउन वडा कार्यालयले प्रहरीलाई ध्यानाकर्षणपत्र बुझाइसकेको उनले बताए । मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको बन्दीपुर, आँबुखैरेनी, छिर्कनेलगायतका ठाउँमा संरचना हटाएर काम अगाडि बढिरहेको पाण्डेले बताए।

    उनका अनुसार बन्दीपुर र आँबुखैरेनी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ । पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको छ ।

    पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माण सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि रु एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल बन्दैछ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । करिब ४१.४५ किमिको यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।