तनहुँ जलविद्युत आयोजनाको काम आधा सकियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँ जलविद्युत आयोजनाको काम आधा सकियो

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम आधा सकिएको छ । निर्माण सुरु भएको पाँच वर्षको अवधिमा आयोजनाले ५१.४४ भौतिक प्रगति गरेको हो ।

    पुस मसान्तसम्म आयोजनाको आधा काम सकिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । सोही अवधिसम्म ४६.३४ प्रतिशत आर्थिक प्रगति हासिल भएको छ । आयोजनाले तीन वटा प्याकेजमा ठेक्कामार्फत् काम गरिरहेको छ ।

    शिल्पकारका अनुसार प्याकेज १ मा २७.७५ प्रतिशत भौतिक र २३.८८ प्रतिशत आर्थिक प्रगति भएको छ । प्याकेज २ मा ५१.१४ प्रतिशत भौतिक र ४४.०९ प्रतिशत आर्थिक प्रगति भएको छ भने प्याकेज ३ मा ७६.५ प्रतिशत भौतिक र ७२.६ प्रतिशत आर्थिक प्रगति हासिल भएको शिल्पकारको भनाइ छ ।

    उनले भने, “तीन वटै प्याकेजको काम तीव्र गतिमा भइरहेको छ, आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।” आयोजनाको कामलाई निर्धारित मिति सन् २०२६ मै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई अगाडी बढाइएको उनकाे भनाइ छ ।

    आयोजनाको महत्वपूर्ण काम रहेको बाँध निर्माण केही महिना अघिदेखि जारी छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ ।

    डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ । बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्वपूर्ण मानिन्छ । सन् २०२१ बाट निर्माण सुरु भएको डाइभर्सन टनेल हालै निर्माण सम्पन्न भएपछि नदी फर्काउने काम गरिएको हो ।

    अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर ड्याम) निर्माण गरिने छ । उक्त बाँध आगामी मनसुन सुरुहुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको आयोजना प्रमुख शिल्पकारले बताए।

    आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र.) लि. नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो ।

    आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गतेखरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले विसं २०७५ माघ ६ बाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।

    भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायतका उपकरणहरु जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ मुख्य सुरुङ खनिरहेको छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी. इन्टरनेशनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । ३४.७ किमि प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७४ वटा टावरहरुको जग हालिएको छ । १६ वटा टावरको जग संरक्षण गर्ने कार्य सम्पन्न भएको छ भने तीन स्थानमा जारी छ । यसअवधिमा निर्माण व्यवसायीले टावरका विभिन्न उपकरणहरु छिर्कनेमा रहेको स्टोरमा आपूर्ति गरेको जनाइएको छ ।

    आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत तनहुँ ग्रामिण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।

    यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनहरुसम्म विद्युत् पु¥याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

    कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।