दमाैली । निर्माणाधीन मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत दमौली बजार क्षेत्रमा घर भत्काउन ढिलाइले धुलोले बजार क्षेत्र प्रदूषित बनेको छ । दमौली बजार क्षेत्रका मुख्य घरहरु भत्काउन ढिलाइले मुख्य बजार क्षेत्र नै धुलोले प्रदूषित बनेको हो ।
आँबुखैरेनीदेखि जामुने (पूर्वी खण्ड) को विस्तार कार्यमा व्यास नगरपालिका अन्तर्गत वडा नम्बर २, ३ र ४ को पूर्वमा बुल्दीखोला र पश्चिममा मादी नदी पुलसम्मको भागमा निर्माण कार्यले गति लिन सकेको छैन ।
वडा नम्बर ४ का २१ र वडा नम्बर २ का १९ घरधनीले सडक अधिकार क्षेत्र २५ मिटर दायाँबायाँ भत्किने घरको मुआब्जा बुझ्ने तर भत्काउने कार्य नगर्नाले बजार क्षेत्र प्रदूषित बनेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बतए। उनले भने, “कतिपयले मुआब्जाका लागि निवेदन प्रक्रियामा सहभागी हुन नआउने भनी जानकारी प्राप्त भएको छ । तत्काल घर भत्काउने कार्य गरी सहयोग नपु¥याउँदा विभिन्न समस्याहरु देखिएको छ ।”
घर भत्काउन ढिलाइले बजार क्षेत्रको बाटो विस्तार अवरुद्ध भएको, बाटो अवरुद्ध हुँदा सडक धुलाम्य र जीवनमा सास्ती भोग्नुपरेको न्यौपानेको भनाइ छ । सडक निर्माण कार्यको म्याद समाप्त भइसकेकाले थप भएको म्यादभित्र सडक निर्माण हुन नसकेमा आयोजनाको अवधि समाप्त भएपछि हाल प्राप्त क्षतिपूर्ति प्राप्त हुने अवस्थाको समय अन्त्य हुने जोखिम रहेको न्यौपानेले बताए।
सडक क्षेत्रका घरहरु नभत्काइ अलमल गरिरहनु दमौली बजार र घरधनी स्वयं आफ्नै हितमा समेत नहुने हुँदा तत्काल सात दिनभित्र घर भत्काइ सहयोग गर्न नगरवासीमा आग्रह गरिएको न्यौपानेले बताए। उनले भने, “घर भत्काउनेहरुले समेत नगरपालिकाबाट नक्सा स्वीकृत नगरी आफूखुसी सडक क्षेत्र २५ मिटरभित्र पुनः घर विस्तार गर्दा समेत क्षतिपूर्ति प्राप्त गर्ने अवस्थामा कटौती हुनेतर्फ सचेत रहन सबैमा अनुरोध गरेका छौ ।”