गणतन्त्र दिवस तनहुँमा तीन दिन विविध कार्यक्रम गरी मनाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गणतन्त्र दिवस तनहुँमा तीन दिन विविध कार्यक्रम गरी मनाइने

    खबरपुञ्ज संवाददाता

    ५ जेष्ठ २०८१, आईतवार

    दमाैली । गणतन्त्र दिवसमा तनहुँमा तीन दिन विविध कार्यक्रम गरी मनाइने भएको छ । गणतन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिको आइतबार बसेको बैठकले जेठ १४, १५ र १६ गते विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो ।

    गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउन जिल्लास्थित राजनीतिक दल, कार्यालय, सङ्घसंस्थासँग सहकार्य गरिने समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताउनुभयो ।

    वाग्लेको अध्यक्षतामा आइतबार बसेको बैठकले दिवसका अवसरमा विभिन्न कार्यालय तथा संंस्थाको संयोजनमा दिवस मनाउने निर्णय गरेको छ । जसअनुसार जेठ १४ देखि १६ गतेसम्म घरघरमा दीपावली गर्नका लागि जिल्लावासीलाई आग्रह गर्ने निर्णय गरिएको छ ।

    यस्तै जेठ १४ गते जिल्लास्थित मठमन्दिर, धार्मिकसंस्था तथा गुम्बाहरुमा प्रार्थना, १४ गते नै उद्योग वाणिज्य सङ्घको संयोजनमा सरसफाइ, नेपाल रेडक्रस सोसाइटीको संयोजनमा रक्तदान कार्यक्रम, व्यास नगरपालिका शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय इकाइको संयोजनमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछ ।

    १५ गते प्रभातफेरी र शुभकामना आदानप्रदान, नागरिक स्वास्थ्य जाँच, १६ गते दमौली अस्पतालमा फलफूल वितरण र १६ गते नै महिला जनप्रतिनिधि र महिला कर्मचारीबीच मैत्रीपूर्ण फुटबल गर्ने निर्णय भएको छ ।

    बैठकमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नेकपा (एमाले) तनहुँका अध्यक्ष हरिराज कंडेल, नेपाली काङ्ग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक विश्व बास्तोला लगायत सरकारी कार्यालय प्रमुख एवं सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।