दमाैली । लायन्स क्लव अफ तनहुँ सत्यवतीकी अध्यक्ष रामशोभा श्रेष्ठले आफ्नी नातिनी आश्नी श्रेष्ठको नाममा छात्रवृत्ति प्रदान गरेकी छन् । श्रेष्ठले भानु नगरपालिका ४ स्थित भानु संस्कृत माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत संञ्जिता अछामीलाई छात्रवृत्ति प्रदान गरेकी हुन् ।
गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठकी समेत नातिनी आश्नीको नामबाट अछामीलाई कक्षा १० सम्म अध्ययनका लागि सहजता प्रदान होस् भन्ने उद्देश्यले मासिक रु एक हजार सहित शैक्षिक सामग्री समेत प्रदान गर्ने प्रतिवद्धताका साथ सोमबार विद्यालयमा आयोजित एक कार्यक्रम मार्फत श्रेष्ठले अछामीलाई शैक्षिक बर्ष २०८१ का लागि एकमुष्ट १२ हजार रुपैया नगद सहित शैक्षिक सामग्री प्रदान गरेकी हुन् ।
गरिव तथा जेहेन्दार विद्यार्थी अछामीलाई शैक्षिक क्रियाकलापमा सहजता प्रदान गर्ने उद्देश्यले रकम प्रदान गरिएकोमा विव्यस अध्यक्ष रामकुमार श्रेष्ठले आभार प्रकट गरेका थिए । सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरु गरिव परिवार रहने गरेकाले पठनपाठनलाई निरन्तरता दिन विद्यार्थीहरुलाई कठिनाई हुने गरेको बताएका थिए ।
विद्यार्थीलाई नियमित उपस्थित गराई रहनका लागि विद्यालयले विभिन्न संघसंस्थाहरु मार्फत उपलब्ध सहयोगलाई प्रदान गर्ने कार्य गरिरहेको श्रेष्ठले बताए । सो रकम हस्तान्तरण कार्यक्रममा अछामीको परिवार सहित विद्यालयका परिवार र लायन्स क्लव अफ तनहुँ सत्यवतीका पदाधिकारी एवं सदस्यहरुको समेत उपस्थिति रहेको छ ।
सोही अवसरमा लायन्स क्लव अफ तनहुँ सत्यवतीकी प्रथम उपाध्यक्ष पवित्रा खनालले व्यक्तिगत रुपमा विद्यार्थीहरुका लागि फुटवल र भलिवल प्रदान गरेकी थिइन् ।
यसैगरी लायन्स क्लव अफ तनहुँ सत्यवती, लायन्स क्लव अफ काठमाण्डौं म्याग्दी युथ र लायन्स क्लव अफ काठमाण्डौं ड्रिम्सको संयुक्त आयोजनामा भानु नगरपालिकामा रहेको मान्द्रे कालिका प्राविका ४० जना विद्यार्थीहरुलाई झोला, कापि, कलम लगायतका शैक्षिक सामग्री प्रदान गरिएको छ । सो विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई सोमबार आयोजित एक कार्यक्रममा उक्त सामग्री हस्तान्तरण गरिएको छ ।