गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम: कृषि, स्वास्थ्य र पर्यटन प्राथमिकतामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम: कृषि, स्वास्थ्य र पर्यटन प्राथमिकतामा

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०८१, मंगलवार

    पाेखरा ।  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखेको छ।

    गण्डकी प्रदेशसभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दिगो शान्ति, सुशासन, विकास र समुन्नति प्रदेश सरकारको गन्तव्य रहेको बताउनुभयो ।

    नागरिकको आधारभूत आवश्यकताका अतिरिक्त स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता मौलिक हकका सवालमा गण्डकी प्रदेश सरकार गम्भीर रहेको उनको भनाइ छ। संवैधानिक कार्यसूचीको कार्यान्वयन, कानुन निर्माण, प्रदेशका सबै स्थानीय तहमा सडक सञ्जालको विस्तार र स्तरोन्नति, गुणस्तरीय खानेपानीको पहुँच, रोजगारी सिर्जना, विपद् व्यवस्थापनलगायतका अभिभारा पूरा गर्न सरकार प्रतिबद्ध र जिम्मेवार रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

    गण्डकी प्रदेशको पहिलो पञ्चवर्षीय योजनाका उपलब्धि र रणनीतिको समीक्षा गर्दै दोस्रो पञ्चवर्षीय योजनाले ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ को सोच लिएको प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ।

    बजेट तथा कार्यक्रम तर्जुमालाई सन्तुलित र औचित्यपूर्ण बनाउन प्रदेश आयोजना बैंक स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको प्रदेश प्रमुख भट्टले बताउनुभयो । कार्यान्वयनमा रहेका, रुग्ण, समस्याग्रस्त योजनाको विद्यमान अवस्था र भावी व्यवस्थाका लागि अध्ययन गरी सुधार तथा परिमार्जन कार्यारम्भ गरिएको प्रदेश प्रमुख भट्टले बताउनुभयो ।

    गण्डकी प्रदेश सरकारबाट हालसम्म कालोपत्र तथा ढलान सात सय ८८ किमि, ग्राभेल छ सय ४३ किमि, कच्ची चार सय एकसठ्ठी किमि सडक निर्माण गरिएको जनाइएको छ ।