चितवन। भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी छ।
घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्याएर खोजतलास गर्न लागिएको हो।नेपालको सुरक्षाकर्मी सहित भारतको‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त खोजतलास भइरहेको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज बिहान पुनः खोजतलास थालिएको छ। भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको जनाउँदै उनले शङ्कास्पद वस्तु भएको अनुमानसँगै पुनः सोही ठाउँमा खोजतलास थालिएको बताए।