हामीले आर्जन गरेको अनुभव, ज्ञान र सीप जनताको सर्वोत्तम हितमा केन्द्रित गरौँ : राष्ट्रपति पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हामीले आर्जन गरेको अनुभव, ज्ञान र सीप जनताको सर्वोत्तम हितमा केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०८१, बुधबार

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताएका छन् ।

    डा.डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय विकास समितिद्वारा बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हामीले आर्जन गरेको अनुभव, ज्ञान, सीप, क्षमता र योग्यता देश र जनताको सर्वोत्तम हितका लागि केन्द्रित र समर्पित गनुपर्ने बताए ।

    उनले सुशासन, विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिवद्धता हुनुपर्ने बताउँदै भने–‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेअनुसार राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोतर्फ लैजान सकेमात्र हाम्रा अग्रज राजनीतिज्ञहरूले परिकल्पना गरेको लक्ष्य साकार हुन्छ । त्यसैले सुशासन, विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिवद्धता हुनुपर्दछ भन्ने मलाई लाग्दछ ।’

    राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गर्नुभएका डा. रेग्मीको व्यक्तित्व बहुआयामिक भएको बताउँदै नेपालको राजनीतिक, साहित्यिक र सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदान प्रेरणादायी भएको स्पष्ट पारे । राष्ट्रपति पौडेलले अंग्रेजी भाषामा नेपालको इतिहास लेखेर नेपाललाई संसारमा चिनाउन रेग्मीले दिनुभएको योगदानको स्मरण गरे ।

    यस वर्षको एक लाख राशिको डिल्लीरमण रेग्मी राष्ट्रिय पुरस्कार नेपालका पाका तथा प्रतिष्ठित पत्रकार भैरव रिसाललाई तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई प्रदान गरिएको छ ।