गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ।आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव शनिबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।
परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा फेला परेको प्रनाउ श्रेष्ठले बताए।
ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जीतबहादुर गुरुङको कृषि फार्ममा बास बसेका थिए। सोही क्रममा राति गएको पहिरोमा परेर उनी बेपत्ता भएका थिए।
गत आइतबार रेसेमा गएको भीषण पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए।