फोहरलाई मोहर बनाउँदै व्यास नगरपालिका : दुई लाख बढी आम्दानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फोहरलाई मोहर बनाउँदै व्यास नगरपालिका : दुई लाख बढी आम्दानी

    खबरपुञ्ज संवाददाता

    ५ कार्तिक २०८१, मंगलवार

    दमौली । जिल्ला सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी रु दुई लाख बढी आम्दानी गरेको छ । फोहर सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले रु दुई लाख १७ हजार चार सय ३९ आम्दानी गरेको हो ।   
      
    नगरपालिकाले पानीका बोतल, आल्मुनियम, टीन, फलाम, कपीकिताब, गत्ता, टुक्रा कागज, सिसालगायत पुनःप्रगोग गर्न मिल्ने वस्तु बिक्री गरी रु दुई लाख १७ हजार चार सय ३९ आम्दानी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । नगरले गत भदौ ८ गतेदेखि फोहरको सुक्ष्म वर्गीकरण थालनी गरेको थियो । गत साउनदेखि सिसा उठाउन सुरु गरेको थियो ।   
      
    करिब रु एक लाख बराबरका एलडी, एचएम, पिपी, गुडियालगायत सामानहरु बिक्रीका लागि तयारी अवस्थामा राखिएको गैरेले जानकारी दिए । उनले भने, “ती सामग्रीहरु बिक्रीका लागि तयारी अवस्थामा छन् । तिहार अघि बिक्री गर्नेछौँ ।”   
      
    नगरले दुई हजार चार सय ५९ किलो पानीका बोतल तथा अन्य बोतलबाट रु ५६ हजार पाँच सय ६८, एक सय तीन आल्मुनियमबाट रु छ हजार एक सय ८०, पाँच सय ६२ किलो टीनबाट रु १४ हजार ६२, एक सय ७९ किलो फलामबाट रु छ हजार दुई सय ६५, तीन सय २६ किलो कपीबाट रु पाँच दुई सय १६, पाँच सय ६० किलो किताबबाट रु सात हजार आठ सय ४०, तीन हजार दुई सय १० किलो गत्ताबाट रु ३५ हजार तीन सय १० र सिसाबाट रु ८४ हजार छ सय ७७ आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत गैरेले जानकारी दिए ।   
      
    फोहरमैला व्यवस्थापनको चुनौती भइरहेकाले नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको हो । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने र बिक्री गर्न योग्य फोहरबाट आम्दानी गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । उनले भने, “एकैठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले कुहिनेलाई छुट्टै गाडीमा र नकुहिनेलाई छुट्टै गाडीमा सङ्कलन गरिरहेका छौँ ।”   
      
    फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले एकजना सरसफाइ विज्ञलाई छ महिना अघि नियुक्त गरेको थियो । सरसफाइ विज्ञ कृष्ण भण्डारीको सल्लाह अनुसार अहिले कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापनको काम अगाडी बढाइएको नगरप्रमुख न्यौपानेले बताए ।   
      
    नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लाष्टिकजन्य वस्तु छुट्याएर आम्दानी गर्न थालेको नगरप्रमुख न्यौपानेले उल्लेख गरे ।
      
    नगरवासीलाई कुहिने र नकुहिने फोहरलाई छुट्टै गाडीमा राखी सरसफाइ तथा फोहर व्यवस्थापन अभियानमा सघाउन नगरप्रमुख न्यौपानेले आग्रह गरे । करिब ३२ वर्षसम्म फोहरमैला व्यवस्थापनको स्थायी समाधान गर्न नसकिएको बताउँदै उनले भने, “विगतमा फोहर व्यवस्थामा समस्या आएकाले अहिले जग्गा खरिद प्रक्रिया अगाडी बढाएका छौँ ।”   
      
    नगरपालिकाले कुहिने फोहरलाई दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम गरिरहेको छ । नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा ११ टन फोहर सङ्कलन गर्दै आइएको जनाएको छ ।   
    —