तनहुँमा सयपत्री फूलखेतीमा आकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा सयपत्री फूलखेतीमा आकर्षण

    खबरपुञ्ज संवाददाता

    ५ कार्तिक २०८१, मंगलवार

    दमौली । सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । सयपत्री फूलखेतीलाई स्थानीय तहले पनि सहयोग गर्न थालेको छ ।

    म्याग्देका तीन जनाले युवाले यसै वर्षदेखि पहिलोपटक सयपत्री फूलखेती सुरु गरेका छन् । म्याग्दे गाउँपालिका–६ धैरेनीमा साढे दुई रोपनी जग्गामा स्थानीय युवा अक्षय कायस्थ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले सयपत्री फूलखेती गरेका हुन् ।

    म्याग्दे गाउँपालिकाको पुष्पखेती कार्यक्रममार्फत पहिलोपटक सयपत्री फूलखेती सुरु गरिएको अक्षयले बताए । सयपत्री फूलखेतीका लागि गाउँपालिकाले बीउ खरिदमा ७५ प्रतिशत अनुदान दिएको छ । उनले भने, “तिहारका बेला फूल बाहिरबाट ल्याउन नपरोस् भनेर हामी तीन जना युवा मिलेर पहिलोपटक सयपत्री फूलखेती गरेका हौँ ।”

    यहाँ लगाइएको फूल उत्पादन हुन सुरु गरिसकेको छ । उनका अनुसार दुई हजार पाँच सय फूल लगाइएको थियो । उनले भने, “तिहारका बेला स्थानीयस्तरमै फूलको माग हुन्छ । पोखरामा पनि सम्पर्क भइरहेको छ ।”

    शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मञ्जु श्रेष्ठले पनि विगत दुई वर्षदेखि फूलखेती गर्दै आएकी छन् । गत वर्ष कलकत्ते प्रजातिका फूल लगाउनुभएका उनले यस वर्ष टिटी जातको फूलखेती गरिएको जानकारी दिइन् ।

    दुई वर्षदेखि फूलखेतीमा आबद्ध उनले मागअनुसारको फूल पुर्याउन धौधौ भएपछि व्यावसायिक रूपमा फूलखेती सुरु गरेकी थिइन् । उनले भनिन्, “पहिलोपटक उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्याउन सकिन, तिहारका बेला फूलको धेरै माग हुन्छ ।”

    श्रेष्ठले भनिन्, “हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो । नेपाललाई फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ ।”