काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको छ । बिहीवार साँझ ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको एक उद्योगीले जानकारी दिए ।
हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको ती उद्योगीले जानकारी दिए ।
साथै जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको लाइनसमेत काटिएको प्राधिकरणको सिमरा वितरण केन्द्रले जनाएको छ ।
कार्यकारी निर्देशक घिसिङले बिहीवार साँझ उर्जा मन्त्री दिपक खड्कासँग भेटेर लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले निर्णय गरिदिनुपर्ने बताएका थिए । मन्त्रिपरिषद् बैठकमा कुलमानले गरेको प्रस्तावको बारेमा छलफल भए पनि कुनै निर्णय भएको थिएन ।