चाडपर्व लक्षित तनहुँमा बजार अनुगमन, अखाद्य वस्तु नष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    चाडपर्व लक्षित तनहुँमा बजार अनुगमन, अखाद्य वस्तु नष्ट

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०८१, शुक्रबार

    दमाैली । तनहुँमा चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिइएको छ । नेपालीहरुको दोस्रो महान् पर्व तिहार नजिकिदै गर्दा जिल्लामा बजार अनुगमनलाई तीव्रता दिइएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीको नेतृत्वमा शुक्रबार आँबुखैरेनी गाउँपालिका–३ स्थित बजार क्षेत्रमा अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदीको संयोजकत्वमा बजार क्षेत्रका ४१ पसलको अनुगमन गरिएको हो ।

    अनुगमन टोलीले किराना पसल, होटल, डिपार्टमेन्टल स्टोर्स, मासु पसल, पशु तथा एग्रो फार्म, मेडिकल तथा स्वास्थ्य क्लिनिक गरी ४१ वटा पसलको अनुगमन गरिएको छ । त्यसक्रममा म्याद सकिएका रु १८ हजार ७० मूल्य बराबरका खाद्य सामग्री नष्ट गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए ।

    त्यस क्रममा व्यवसायीलाई म्याद सकिएका वस्तु विक्री वितरण नगर्न, मूल्यसूची राख्न, कृत्रिम अभाव सिर्जना नगर्न सचेत गराइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले व्यवसाय सञ्चालनका क्रममा कमजोरी नगर्न र कमजोरी गरेको भेटिए कानून अनुसार कारवाही गर्ने बताए ।

    अनुगमन टोलीमा कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्र, दमौली अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, आँबुखैरेनी गाउँपालिकाका प्रतिनिधि सहभागी थिए ।

    यस्तै सोही अनुगमन टोलीले बिहीबार भिमाद नगरपालिका–६ स्थित बजारमा अनुगमन गरेको थियो । टोलीले भिमाद बजारका विभिन्न किराना पसल, होटल, डिपाटमेन्टर स्टोर्स, मासु पसल, पशु तथा एग्रो फर्म, मेडिकल तथा स्वस्थ्य क्लिनिक गरी ३१ वटा पसलमा अनुगमन गरेको थियो । सो क्रममा रु १५ हजार बराबरका म्याद नाघेका एवम् अखाद्य सामग्री नष्ट गरिएको छ ।

    चाडपर्वको मौका छोपी बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना गर्ने लगायतका गतिविधि हुन सक्ने भएकाले अनुगमनलाई प्रभावकारी रुपमा सञ्चालन गरिने सहायक प्रजिअ भण्डारीले बताए ।