जातीय पोसाकमा सजिएर बन्दीपुरमा नाचे विदेशी पर्यटक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जातीय पोसाकमा सजिएर बन्दीपुरमा नाचे विदेशी पर्यटक

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०८१, शनिबार

    दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरा र चुड्कामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका पोसाकमा सजिएर नाचेका हुन् ।

    बन्दीपुरमा बसोबास गर्ने नेवार, मगर, गुरुङ, क्षत्री जातिका पोसाकमा सजिएर पर्यटक कौरा र चुड्कामा नाचेका छन् । स्थानीय होटल व्यवसायीको सक्रियतामा शुक्रबार उनीहरूलाई यहाँको संस्कृतिबारे जानकारी गराउँदै मनोरञ्जन गराइएको छ ।

    बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहेका हेरिटेज गेष्ट हाउसका सञ्चालक किसान प्रधानले विदेशी पर्यटक यहाँको संस्कृति देखेर आकर्षित भएको बताए । उनले भने, “विदेशीहरूले यहाँको संस्कृति, रीतिरिवाजबारे बुझ्ने प्रयास गरेपछि उनीहरूलाई विभिन्न जातजातिका पोसाकको व्यवस्था गराएर स्थानीयवासीको सहयोगमा नचायौँ । उनीहरू निकै खुसी देखिए ।” स्थानीयवासीले गाएको गीतमा नाच्न पाउँदा विदेशी पर्यटक खुसी देखिएका थिए ।

    प्रधानले भने, “बन्दीपुर घुम्न आउने पर्यटक यहाँको संस्कृति, रीतिरिवाज, जातजातिको एकता देखेर मोहित हुन्छन् ।” बन्दीपुरमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको आगमन बाक्लिएको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि भिजिट बन्दीपुर २०२५ घोषणा गरिसकेको छ ।